© २०२३
बुटवल, ५ साउन ।
रुपन्देहीका विभिन्न संघसंस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तरगत शिव मन्दिरमा चिसोपानी बितरण, सरसफाई कार्यक्रम गरेका छन । रोटरी क्लब अफ लुम्बिनी स्टारर्स र रोट्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त आयोजनामा तिलोत्तमा स्थित श्रृगेश्वर धाममा भक्तजनहरूलाई फलफूल तथा चिसो पानी वितरण कार्यक्रम गरेको छ । यसैगरि वेस्टर्न मेगा कलेजको बि.एच.एम चौथो र छैठौँ सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुले नयाँगाउँमा अवस्थित मुक्तिनाथ धाम मन्दिर तथा सैनामैनास्थित पर्रोहा परोश्वर बोलबम धाममा सर–सफाई तथा तिर्थालु सेवा कार्यक्रम सम्पन्न गरेका हो ।
श्रृगेश्वर मंदिर व्यवस्थापन समिति अध्यक्ष ऋषि बहादुर भण्डारी, तिलोत्तमा नगरपालिका वडा नं. ४ का सचिब काशीराम ज्ञवाली, यादव प्रसाद भण्डारी, रोट्याक्टका अध्यक्ष गौरव पाण्डे, कार्यक्रम संयोजक लक्ष्मण चौधरी क्लबका सचिब मुक्ति भण्डारीले भक्तजनहरुलाई फलफुल तथा चिसोपानी वितरण गरेका थिए ।
कार्यक्रममा रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष बिमल ढकालले फलफूल तथा पानी वितरण कार्यक्रम निरन्तर दिने प्रतिबद्धता जनाए । प्रत्येक सोमवार साझ शिवालय मंदिरमा भजन गरिने भएको छ।
साउन महिनाभरि नै विभिन्न मन्दिरमा सेवा गर्ने कार्यक्रम रहेको कलेजका प्राचार्य अधिवत्ता किसु शर्माले बताए । साउन १२ गते पाल्पा दोभानस्थित सिद्धबाबा मन्दिर, साउन १९ गते जानकीनगर स्थित श्री सिद्धेश्वरनाथ शिव मन्दिर र नयाँमिल स्थित दुर्गा मन्दिर/शिव मन्दिर र साउन २६ गते भैरहवा स्थित मोक्षधाम र बसडिलवा शिव मन्दिरहरुमा सरससफाई गर्ने कार्यक्रम रहेको उनले बताए ।
अध्ययन अध्यापन बाहेक विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान र सामाजिक जिम्मेवारीको पनि प्रत्यक्ष बोध गराउने उद्धेश्यका साथ कार्यक्रमहरुलाई प्राथमिकताका साथ अगाडी बढाईएको प्राचार्य शर्माले बताए । कार्यक्रममा कलेजमा कार्यरत शिक्षक कर्मचारीहरुको उल्लेखनिय समावेश रहेको थियो ।