© २०२३
बुटवल, ०५ साउन ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले गएको एक वर्षमा ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै १ लाख ७० हजार बढी सवारीसाधनलाई कारबाही गरेको हो । जसबाट ट्राफिक प्रहरीले १७ करोड ८३ लाख ८३ हजार जरिवाना समेत उठाउन सफल भएको राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले बताए । ट्राफिक प्रहरीले आफूखुसी गाडीमा सिट थपेर सञ्चालन गरेका १७ वटा सवारीलाई कारबाही गरेको छ ।
भारतीय बसहरूले नियम विपरीत यात्रु ओसार पसार गरेको भन्दै ५ बटा भारतीय बसलाई कारबाही गरेको छ । लामो समयदेखि बजारमा कागजपत्र गुडिरहेका इलेक्ट्रिक स्कुटीहरू नियन्त्रणमा लिएर कारबाही गरीएको हो । ट्राफिक प्रहरीले एक वर्षमा ५६ थान स्कुटर नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ ।
प्रहरीले चेकजाँचको क्रममा लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाएको भन्दै ६ जना चालकहरूलाई कारबाही गर्न इलाका प्रहरी कार्यालय बुटवल पठाएको जनाएको छ । समाजलाई आतङ्कित बनाउने ठुलो आवाज निकाल्ने तीव्र गतिमा कुदाउने उडाउने स्वरूप परिवर्तन गरेका २ सय १९ वटा मोटरसाइकलहरूलाई जनही १० हजारका दरले जरिवाना गरी पुरानै स्वरूप बनाएर छाडिएको हो ।
त्यस्तै ट्राफिक प्रहरी कार्यालयले एक वर्षमा सडकको क्षमता भन्दा धेरै मालसामान बोकेको भन्दै ४२ हजार ७ सय ७३ मालवाहक सवारीसाधनहरूलाई कारबाही गरेको ट्राफिक प्रहरीले जनाएको छ ।बुटवल बजारमा बिना दर्ता सञ्चालित २ सय ४९ वटा ई रिक्सा टेम्पुलाई आवश्यक कारबाहीका लागि बुटवल उपमहानगरपालिका पठाएको प्रहरीले जनाएको छ ।
त्यस्तै ट्राफिक प्रहरी कार्यालयले एक वर्षमा लामो समय देखि सडकमा गुडीरहेका ७ सय ६३ वटा सवारीसाधनलाई नि शुल्क मेकानिकल चेकजाँच गरिएको छ भने प्रदेश भरी सवारी दुर्घटना कम गराउन ट्राफिक जनचेतना जगाउन १५ हजार ५ सय १७ पटक जनचेतना मूलक कार्यक्रम गरिएको हो ।
दुर्घटना न्यूनीकरण गर्न सडक नाटक जनचेतना मूलक साइनबोर्ड निर्माण पर्चा पम्प्लेट वितरण गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु सुधन न्यौपानेले बताए । धेरै राम्रा काम भएका छन् दुर्घटना कम गराउनु र सवारी चालक आम मानिसलाई सडक प्रयोग गर्न अवारनेस कार्यक्रम फलदायी भएको सूचना अधिकारी न्यौपानेको भनाई छ ।
यस्तै लुम्बिनी प्रदेशमा एक वर्षमा सडक दुर्घटना बाट ५ सय ६ जनाको मृत्यु भएको छ भने ५ हजार ६ सय ९१ जना घाइते भएको ट्राफिक प्रहरी प्रमुख मित्र बन्धु शर्माले बताए । दुर्घटना न्यूनीकरण गर्न र सहर भित्रका पार्किङ व्यवस्थापन गर्न प्रदेश ट्राफिक कार्यालय र जिल्लामा रहेका हरेक ट्राफिक कार्यालयहरू लागिरहेको प्रमुख शर्माको भनाइ छ ।