© २०२३
गत साता कञ्चनपुरमा छाउगोठमा बसेकी एक महिलाको सर्पको टोकाइबाट मृत्यु भएको समाचारले नेपालमा २१ औँ शताब्दीमा पनि जरो गाडिएको कुप्रथा र चिन्तन कतिसम्म गिर्दो छ भन्ने कुराको पुष्टि गरेको छ । असुरक्षित छाउगोठमा बस्दा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाई मृत्युको मुखमा पुग्नुप¥यो ।
महिनावारी भएका बेला उनलाई घरभित्र बस्ने अनुमति थिएन । घरबाट करिब डेढ सय मिटर टाढा, छिमेकीले बनाएको असुरक्षित छाउगोठमा रात बिताउनु उनको बाध्यता थियो । त्यही बाध्यताबिच उनको इहलीला समाप्त भएको छ । छाउपडी प्रथा अत्यन्तै दुःखद र लज्जास्पद परम्परा हो ।
यसअघि पनि सयौँ नेपाली चेलीको छाउगोठमै बस्दा ज्यान गुमेको छ । तसर्थ अव छाउगोठ भत्काउने अभियान सुरु गर्नुपर्छ । बर्खा याममा सर्प र अन्य विषालु जीवहरूको बिगबिगी हुने तराईको मौसममा यस्ता असुरक्षित गोठमा बस्नु भनेको मृत्युलाई निम्तो दिनुसरह हो ।
छाउगोठमा भएको यो घटनाले एक पटक फेरि नेपालीलाई स्तब्ध बनाएको छ । केही वर्ष अघिसम्म पहाडमा मात्र सुनिने छाउगोठको कथा अब तराईको पनि तितो यथार्थ बनेको छ । सुदूर पश्चिमका पहाडी क्षेत्रमा रहेको छाउपडी प्रथा तराईमा पनि फैलिनु चिन्ताको कुरा हो । छाउपडी प्रथा भत्काउने काम गर्नु जरुरी छ ।
त्यसका लागि छाउगोठ भत्काउनुपर्दछ भनेर सम्बन्धित स्थानमा सचेतनामूलक अभियान सञ्चालन गर्नु जरुरी छ । छाउगोठ भत्काउन नमान्ने र अटेरी गर्नेहरूलाई कडा कारबाही गर्नुपर्दछ । छाउपडी सुदूरपश्चिम प्रदेशका दुर्गम पहाडी जिल्लाहरू त्यसमा पनि विशेष गरी अछामको कहालीलाग्दो कुप्रथा हो ।
त्यही कुप्रथाका कारण धेरै महिला तथा किशोरीहरूको छाउगोठमा ज्यान गइसकेको इतिहास ताजै छ । त्यही कुप्रथा अझै निर्मूल हुन नसक्दा आज तराईका समथर भूमिमा समेत नेपाली चेलीहरूको अकालमै ज्यानै जानेसम्मका घटना भइरहेका छन् ।
कैलाली र कञ्चनपुरजस्ता जिल्लामा अछामबाट बसाइ सरेर आएका समुदायसँगै यो अन्धविश्वास पनि सरेको छ । यसलाई अरू जिल्लामा सर्न दिइनु हुँदैन । जबसम्म छाउगोठ भत्काएर निर्मूल गर्न सकिँदैन तबसम्म यस प्रकारका घटना भइरहने हुँदा छाउगोठ निर्मूल गर्नेतर्फ सबैको ध्यान जाओस् ।
निश्चित रूपमा मान्छे बसाई सरेपछि संस्कृति, परम्परा र रहनसहन पनि सँगै लिएर आएका हुन्छन् । राम्रो संस्कृति र परम्परालाई अनुसरण गर्ने र नराम्रो परम्परालाई हटाउनेतर्फ हरेकको चिन्तन हुनुपर्दछ । तर, सुदूरपश्चिममा उनीहरूको मनमा जकडिएको कुप्रथा पनि सँगै सरेको छ ।
तराईका यी नयाँ छाउगोठहरू महिला तथा किशोरीहरूका लागि मृत्यु पासो बनिरहेका छन् । तराईका जिल्लामा यस्तो घटना हुनुले हाम्रो चेतनाको स्तर कहाँ छ भनेर देखाउँछ । यी सबै छाउगोठ भत्काउने अभियान सुरु गर्नुपर्छ । कमलाको मृत्युले स्थानीय सरकारलाई समेत झकझक्याएको छ ।
कृष्णपुर नगरपालिकाले छाउगोठ भत्काउन एक महत्त्वपूर्ण निर्णय गरेको छ । यो घोषणाले पीडित परिवारलाई सान्त्वना दिन नसके पनि भविष्यमा यस्ता घटना दोहोरिन नदिन एउटा ठोस सरकारी प्रयासको सुरुवात भने पक्कै गरेको छ । यो घटनाले सम्पूर्ण समाजको शिर निहुरिएको छ ।
महिलालाई यस्तो असुरक्षित खोरमा बस्न बाध्य पार्ने हामी कस्तो अज्ञानतामा बाँचिरहेका छौँ ? । यसको जवाफ कसले दिने ? यस प्रकारका घटनाबाट पाठ कहिले सिक्ने ? सोचनीय विषय वनेको छ । मान्छेको दिमागमा बसेको यो देउता रिसाउने अन्धविश्वासको गोठ जबसम्म भत्काउँदैनौँ, तबसम्म बाहिरको छाउगोठ भत्काएर मात्र केही हुँदैन ।
यो कुप्रथालाई जरैदेखि उखेल्न सबै राजनीतिक दल, स्थानीय तह, प्रदेश सरकार र सामाजिक सङ्घसंस्थाहरूले एकीकृत अभियान चलाउनु अनिवार्य भइसकेको छ । केही समयअघि मात्रै कैलालीको मोहन्याल गाउँपालिकामा पनि छाउगोठमा बसेकी एक महिलालाई बाघले आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो ।
कैलालीमा स्थानीय सरकार र प्रशासनले छाउगोठ भत्काउने अभियान नगरेका होइनन्, तर ती अभियानहरू मौसमी र प्रभावहीन देखिएका छन् । अबको दिनमा सरकारले नै छाउगोठ भत्काउने अभियानको नेतृत्व गरोस् ।