© २०२३
नागढुङ्गा, साउन ३ ।
नागढुङ्गा–मुग्लिन सडकखण्डमा एकैसाथ सडक निर्माण र पहिरो न्यूनीकरणको काम तीव्र गतिमा अगाडि बढाइएको छ।
खासगरी वर्षायाममा हुने प्राकृतिक जोखिमलाई न्युनिकरण गर्न चिनियाँ कम्पनी जियाङ्सु र नेपाली साझेदार सगुन निर्माण सेवाले काम गरिरहेका छन्।
पहिलो प्याकेज अन्तर्गत नागढुङ्गादेखि नैबिसेसम्मको खण्डमा कालोपत्रे सम्पन्न भइसकेको निर्माण व्यवसायी ज्ञानेन्द्र घिमिरेले जानकारी दिए। उनका अनुसार, झ्याप्ले खोलाको क्षेत्रमा सडकसँगै पहिरो नियन्त्रणका विशेष संरचनाहरू निर्माण भइरहेका छन्।
एक वर्षअघि झ्याप्ले खोलामा गएको पहिरोले ३५ जनाको ज्यान लिएको थियो। त्यस यताका पहिरोका जोखिमलाई ध्यानमा राखी विस्तृत अध्ययन र सावधानीपूर्वक काम भइरहेको छ।
अहिले भित्तामा ‘ग्याबिन’ लगाइएको छ । प्लटिङ भएको भाग आसपासका भित्तामा बाँस रोप्नेदेखि अत्याधुनिक तवरले भित्तालाई आरसीसी ढलान गरिँदैछ ।
नागढुङ्गा–मुग्लिङ सडक योजना पूर्वी खण्ड आयोजना प्रमुख केशवप्रसाद ओझाका अनुसार झन्डै ५५ किलोमिटरमध्ये २७ किलोमिटरमा पहिलो तहको कालोपत्रे सम्पन्न भएको छ ।
योजनाअन्तर्गत निर्माणाधीन १५ पुलमध्ये ८ पुलमा हाल गाडी चल्न थालेका छन्। बाँकी पुल र सडक स्तरोन्नतिको काम समेत तीव्र गतिमा भइरहेको बताउँदै प्रमुख ओझाले आउँदो वर्षाको समयमा यात्रुहरूले विगतजस्तो सास्ती भोग्नुपर्ने अवस्था नरहने दाबी गरेका छन्।