रसुवा, १ साउन ।
गत असार २४ गते चीनतर्फबाट आएको हिमबाढीले ल्हेन्दे खोलामा बाढी ल्याउँदा नेपाल–चीन जोड्ने मितेरी पुल भत्किएको छ। त्यसपछि चीनको केरूङमा अलपत्र परेका नेपाली नागरिकलाई वैकल्पिक मार्गबाट स्वदेश फर्काउने तयारी गरिएको हो।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार करिब १,२०० जना नेपालीको फर्काइका लागि परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षसँग समन्वय भइरहेको छ। केरूङमा रहेका नेपालीको आवास र भोजनको व्यवस्था चीन सरकारले गरेको छ। तीमध्ये ९१ जना मालबाहक सवारीका चालक र सहचालक छन् भने काम विशेषमा त्यहाँ गएका ११७ जनाले पनि घर फर्कन आग्रह गरेका छन्।
उक्त बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। हालसम्म ११ शव र केही मानवअंग फेला परेका छन् भने १८ जना बेपत्ता छन्। बाढीले मितेरी पुलसँगै रसुवागढी–स्याफ्रुबेसी सडकको १६ किलोमिटर खण्ड पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ। साथै, रसुवागढी सुक्खा बन्दरगाह, तीनवटा जलविद्युत आयोजना र भन्सार क्षेत्रबाट झण्डै एक सय गाडी बगाएको थियो।
सडकको अधिकांश भाग मर्मत भए पनि लिङलिङ क्षेत्रमा १२० मिटर सडक अझै अवरुद्ध छ। त्यहाँ नदीलाई तर्काएर पहाडको भित्तो काट्ने काम भइरहेको छ। ट्र्याक खुलेपछि साना गाडी चल्ने र थप मर्मतपछि ठूला गाडी पनि सञ्चालन हुने जनाइएको छ।
पुल पुनर्निर्माणको विषयमा भने अन्योल रहेको छ। बाढीपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्थल अवलोकन गरेका थिए र त्यसपछि सरकारले चीनलाई पुल पुनर्निर्माणका लागि औपचारिक अनुरोध गर्ने निर्णय गरेको छ। चिनियाँ पक्षले काम सुरु गरेको अनुमान नेपाली अधिकारीहरूले गरेका छन्।



