© २०२३
गुल्मी, ३२ असार ।
आइतबार बिहानदेखि अवरुद्ध बनेको गुल्मीको काली गण्डकी कोरिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको छ । काली गण्डकी कोरिडोर सडक खण्ड अन्तर्गत गुल्मीको काली गण्डकी गाउँपालिका –१ स्थित गरगरे र वडा नं. ६ को बरल्वा गरी दुवै ठाउँमा सडक माथिबाट चट्टान सहितको ठुलो पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।
सडक सुचारु गर्नका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीको पहलमा सडक निर्माण कम्पनी कालीका कन्ट्रक्सनद्वारा डोजर र एक्साभेटरको माध्यमबाट दुई दिनसम्म सडक छेउँको पहिरो पन्छाएपछि मंगलबार अपरान्ह चार बजेदेखि उक्त सडक एकतर्फी रूपमा सञ्चालनमा आएको हो ।
सडक सञ्चालनमा आएपछि आइतबारदेखि कोरिडोर क्षेत्रमा दुवैतर्फ रोकिएका सम्पूर्ण सवारीका साधनहरू अहिले गन्तव्यतिर लागेका छन् । वर्षाका कारण दुवै स्थानमा चट्टान सहितको ठुलो पहिरो गएको हुँदा पहिरो हटाउन लामो समय लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक गङ्गा बहादुर सारूले जानकारी दिएका छन् ।
पहिरोका कारण कुनै पनि समयमा जोखिम उत्पन्न हुनसक्ने भन्दै स्थानीय पालिका र प्रशासनले त्यस सडक क्षेत्रमा आवतजावत गर्ने मानिसहरूलाई सतर्कता अपनाएर मात्र यात्रामा निस्कन आग्रह गर्दै आइरहेको छ । बर्सात सुरुभएसँगै काली गण्डकी कोरिडोर सडक पटक पटक अवरुद्ध हुँदै आएको छ ।