© २०२३
‘युवालाई सिपयुक्त रोजगारीमा जोड्न ढिलाइ नगरौैं’ भन्ने नाराका साथ आज विश्व युवा दक्षता दिवस मनाइएको छ । सीप विनाको जीवनको कुनै अर्थ छैन भन्ने भाष्य निर्माण भइरहेको वर्तमान अवस्थामा युवालाई रोजगारीमा जोडन सीपको आवश्यकतामा यो दिवसले जोड दिएको छ ।
युवालाई हरेक क्षेत्रमा दक्ष बनाउने अभियानको क्रममा यो दिवसले सार्थक सन्देश दिएको छ । रोजगारीको अवसर सिर्जना गरी बेरोजगारी तथा अर्ध बेरोजगारी न्यूनीकरण गर्दै युवाको हक अधिकार सुनिश्चित गर्ने अभियानमा यो दिवसले सार्थक महत्त्व राख्छ । अबको दिनमा रोजगारीका लागि सीप तथा तालिमका अवसर वृद्धि गरी प्रतिस्पर्धा गर्न सक्ने श्रम शक्तिको विकास गर्ने, वैदेशिक रोजगारलाई बढी उत्पादक, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै जाने अभियानमा अबको कार्यक्रम लक्षित हुनु जरुरी छ ।
सोही लक्ष्य पूरा गर्ने उद्देश्यले हरेक वर्ष विश्व युवा दक्षता दिवस मनाइने गरिन्छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले जुलाई १५ मा दिवस मनाउने सङ्कल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यता अनुसारको रोजगार नपाइने प्रवृत्ति हटाउने उद्देश्य यो दिवसको मूल ध्येय हो । तर, यति ठुलो पवित्र उद्देश्य राखेर मनाउने गरिएको यो दिवसको चर्चा भने कतै सुनिँदैन ।
कतै यो दिवस पनि क्यालेन्डरमा मात्रै हेर्ने दिन नआओस् । वास्तवमा अहिलेको सबैभन्दा ठुलो आवश्यकता भनेको युवालाई दक्ष बनाउनु हो । उनीहरूलाई सीपमा पोख्त बनाएर विशेषज्ञता हासिल गराउन सकिन्छ । अहिले अध्ययन, रोजगारी, जीविकोपार्जन र अवसरको खोजीका लागि धेरै युवाहरू सहर केन्द्रित भइरहेका छन्, विदेश पलायन भइरहेका छन् । यस्तो बेला कम्तीमा पनि यो दिवसले विदेश पलायन रोक्ने र हरेक युवालाई आत्मनिर्भर बनाउन सीपमा आधारित रोजगारीको ढोका खोल्नेतर्फ सहयोग पु¥याउने विश्वास गर्न सकिन्छ ।
नेपालको जनगणना २०७८ का अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत रहेको छ । नेपालको जनसङ्ख्याको झन्डै आधाको हाराहारीमा रहेका युवा जनशक्ति राज्यको बेवास्ताकै कारण पिल्सिरहेका छन् । युवालाई दक्ष बनाउने सवालमा अझै धेरै काम गर्नुपर्ने जिम्मेवारी र चुनौती कायमै छ । दक्ष युवाले रोजगारीदेखि अनेक अवसर प्राप्त गर्छन् तर अदक्ष युवाको भविष्यका विषयमा समयमै सोच्नु आवश्यक छ ।
तसर्थ नेपाल सरकारले मंगलबार यो दिवस मनाउँदै गर्दा कम्तीमा बेरोजगार युवालाई स्वरोजगार बनाउन कसरी सकिन्छ ? भन्ने विषयमा मन्थन गर्नु अत्यावश्यक छ । नेपाली युवाहरू प्रत्येक दिन सयौँको सङ्ख्यामा विदेशका मुलुकमा श्रमका लागि बिदेसिइरहेका छन् । नेपालमा प्रशस्त लगानीका सम्भावना कमजोर बन्दै जानु र श्रमको श्रोत समेत कम हुँदै गएकोले युवाहरू बिदेसिन बाध्य भएको साँचो हो ।
अर्कोतर्फ नेपालमै पनि श्रमको ठुलो सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको छ । नेपालका धेरै उद्योगले दक्ष श्रमिक नपाएको भन्दै उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको बताउने गरेका छन् । युवालाई सीपयुक्त बनाउने हो भने नेपालमा नै श्रमको ठुलो सम्मान र सम्भावना रहेको कुरालाई नकार्न सकिदैन् ।
एकातिर मुलुक भित्रै रोजगारीको अवसर बन्न सक्छ भने अर्कातिर स्वरोजगारी विस्तार गर्न सकिन्छ जसबाट रोजगारीका लागि बिदेसिने जनशक्तिलाई रोक्न सकिन्छ । अबको दिनमा युवालाई दक्ष बनाउने हो भने सानैदेखि उनीहरूलाई सीपमा आबद्ध गराउनु जरुरी छ । अव सीप विनाको अवसर कुनै पनि अवस्थामा पाइँदैन भन्ने कुरा बुझ्नुपर्दछ ।
सरकारको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले युवालाई कसरी रोजगारीमा जोडन सक्छ ? त्यसको आधार के हुन सक्छ भन्ने विषयमा नयाँ रणनीति सार्वजनिक गरोस् । पढेका दक्ष युवालाई मात्रै होइन, पढ्ने अवसर नपाएका युवालाई पनि सीपमा दक्ष बनाएर रोजगार बनाउने सवालमा अभियान सञ्चालन गर्न ढिलाइ गरिनु हुँदैन ।