© २०२३
बर्दिया, २८ असार ।
मलको चरम अभाव भएका बेला किसानहरूलाई रोपाइँको चटारो छ । किसानले मल किन्न नपाएपछि त्यसै रोपाई गर्न बाध्य छन् । एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यालयका अनुसार बर्दियामा करिब ६० प्रतिशत रोपाई भइसकेको छ । किसानहरूले मल विनै धान रोपाई गर्दैछन त्यसमा उत्पादन घट्नु स्वाभाविक हो तर किसानहरूले वैकल्पिक मल धैँचा, गाई भैँसीको गोबर मल प्रयोग गर्ने सके त्यसले केही सुधार गर्छ तर रासायनिक मल अनिर्वाय नभए उत्पादन त्यसै घट्ने एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यालयका प्रमुख सागर ढकालले जानकारी गराए । जुन हिसाबले बर्दियाले बर्दियालाई अन्नको भण्डार मानिएको छ त्यो हिसाबले मल उत्पादन गराउन सकेको छैन ।
यदि बर्दियामा धानको उत्पादनमा कमी आयो भने यसको असर धेरै जिल्लाहरूमा पर्न सक्ने प्रमुख ढकालले जानकारी गराए । बर्दियाको पश्चिम क्षेत्रमा सिँचाइको सुविधा भएका कारण रोपाई बढी भएको हो । राजापुर नगरपालिका ३ का शशी चौधरीले स्थानीय कृषि सहकारीमा तीन÷चार पल्ट धाए पनि मल नपाएपछि रोपाई सुरु गरेको बताउँछन् । खेतीपाती गर्न ढिलो हुन थालेपछि मलविना नै रोपाई सुरु गरेका हुन । मल नहाल्दा उत्पादन घट्ने उनलाई राम्रो गरी जानकारी छ । गत वर्ष भन्दा यो वर्ष उत्पादनमा निकै कमी हुने अनुमान समेत गरेको बताए ।
तर बाध्यताले रोपाई गरिरहेका छन् । ‘मलकै लागि कति दौडनु । जति पल्ट सहकारी पुगे पनि मल छैन भन्दै फिर्ता पठाउँछन्,’ उनको गुनासो छ,‘पैसा तिरेर पनि मल पाइएन । किसानलाई मार भो ।’ रोपाइँको चटारो चलिरहेका बेला बर्दिया मात्र नभएर बाँकेमा समेत मलको चरम अभाव भएको छ । मल नपाएपछि किसानहरू समस्यामा परेका छन् । मल किन्नका लागि किसानहरू दैनिक दुई÷तीन पल्ट सहकारी पुग्छन् । रित्तै हात फर्किन्छन् । मल नहालेरै रोपाई गरिएका कारण उत्पादन घट्ने बढैया ताल गाउँपालिका वडा नम्बर ५ का विहारी सिंह थारुले बताए । चार पल्ट सहकारी धाउँदा पनि मल नपाएपछि उनी सरकारप्रति आक्रोशित छ
बर्दियामा बर्दिया जिल्लाका लागि युरिया, पोटास र डिएपी गरी १२ हजार टन आवश्यक पर्छ । मल बिक्रीका लागि १ सय २० सहकारी संस्था कृषि सामग्री लिमिटेडमा दर्ता छन् । सहकारीले फुटकर रूपमा मल ल्याउँदै किसानलाई बिक्री गरिरहेका छन् । कृषि सामग्री लिमिटेडका अनुसार बाँकेका लागि ६ हजार मेट्रिक टन युरिया, ३ हजार मेट्रिक टन डिएपी र १ सय मेट्रिक टन पोटास आवश्यक पर्छ । मलको प्रयोग नगरिए २० देखि ३५ प्रतिशत उत्पादन घट्ने एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यालयका र कृषि ज्ञान केन्द्र बाँकेले अनुमान गरेका छन् । तर किसानहरूले भने खेतीका समयमा मल पाउन सकेका छैनन् । त्यस्तै बीउ राम्रो नभए २० प्रतिशत उत्पादन घट्छ ।
सरकारले गरेको घोषणा अनुसार कृषि प्रधान देशमा यो आर्थिक वर्षमा नेपालगन्ज भन्सार कार्यालयको नाकाबाट ६ अर्ब बढीको चामल मात्र आयात भएको छ । यति धेरै चामल आयात हुनुमा नेपाल सरकारकै हात छ । सरकारले किसानहरूलाई समयमा आवश्यक मल लगायत किसानहरूलाई चाहिने मल लगायत अन्य सामग्री उपलब्ध गराउन सके भारतबाट त्यति धेरै मूल्य बराबरको चामल आयत गर्न आवश्यक देखिँदैन । जस कारण सरकारले देशलाई कृषि प्रधान देश हो भनेर चिनाउनकै लागि भए पनि किसानहरूको समस्यालाई मध्य नजर गरेर किसानहरूको आवश्यकता पुरा गर्न जरुरी देखिन्छ ।