Butwal Today

पहिरो गएपछि कालीगण्डकी करिडोर सडक अवरुद्ध

२७ असार २०८२, शुक्रबार
अ+
अ-

गुल्मी, २७ असार ।

गए राति परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडक अन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका ६ खड्गकोट स्थित बरल्वामा पहिरो खसेपछि शुक्रबार बिहानदेखि उक्त सडक पूर्ण रुपमा सडक अवरुद्ध बनेको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद बहादुर थापाले जानकारी दिएका छन् ।

सडक माथिबाट ठूला ठूला चट्टानहरु सहित ठूलो पहिरो खसिरहेको अध्यक्ष थापाले बताए । अवरुद्ध सडक सुचारु गर्नका लागि प्रहरी चौकी भुर्तुङ्बाट प्रहरी टोली पहिरो गएको स्थानमा पुगिसकेको भए पनि तत्कालै पहिरो पन्छाउन भने सम्भव नदेखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगा बहादुर सारुले बताएका छन् ।

पहिरो हटाउनका लागि सडक निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनद्वारा जेसिवी र एक्साभेटर तयारी अवस्थामा राखिएको सारुले बताए । कालीगण्डकी करिडोर सडक अन्र्तगत गुल्मी हुँदै वाग्लुङ् जाने उक्त सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनहरु सञ्चालन हुन सकेका छैनन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले वर्षात्को समयमा बाढी र पहिरो जान सक्ने भन्दै पहिरो ग्रस्त र खोला तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।