© २०२३
कपिलवस्तु, २६ असार ।
जैविक कृषि खेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ कपिलवस्तु र रुपन्देहीका १ जहार ५ सय कृषकलाई कृषि सामग्री र जैविक खेतीका लागि आवश्यक पर्ने मल र जैविक विषादी लगायतका सामाग्री वितरण सुरु गरिएको छ ।
इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोगमा लुम्बिनी एकीकृत विकास संस्था (लिडो नेपाल) ले सञ्चालन गरेको न्यून आय भएका र संकटासन्न समुदायको उत्थानशीलता अभिवृद्धि परियोजना (पिआर भिसी) अन्तर्गत कपिलवस्तु र रुपन्देहीका ४ पालिकाका ६० समूहमा आबद्ध कृषकलाई सामग्री प्रदान गर्न थालिएको हो ।
कार्यक्रम अन्तर्गत कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाको वडा नम्बर २ को भरवलिया र अभिरावका दुई समूहका ५३ जना कृषकलाई कोदालो सहितको कृषि उपकरण, त्रिपाल, माइक्रो न्युटियन्ट, अर्गानिक फर्टिलाईजर, भिटामिन माइक्रो न्युटियन्ट, गँड्यौला मल सहितको सामग्री वितरण गरिएको हो ।
जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, मायादेवी २ का वडा अध्यक्ष महम्मद हुसेन मुसलमान, गैर सरकारी संस्था महासङ्घ कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डेय, लिडो नेपालकी कार्यकारी निर्देशक सुनिता बेल्बासे र पिआर भिसी कार्यक्रमका म्यानेजर सुशील चौधरीले कृषकलाई कृषि उपकरण सामाग्री, मल र जैविक विषादी वितरण गरेका थिए ।
कृषकलाई दिइएको जैविक मल र भिटामिनको प्रयोगले माटोको उर्वरता संरक्षण हुने, स्वास्थ्यकर खाद्यान्न उत्पादन भै स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने, पर्यावरणमैत्री प्रणाली विकास हुने, दिगो कृषि प्रणालीलाई सहयोग पुग्ने र उत्पादन लागत घट्ने जनाईएको छ । रासायनिक मल र बिषादीहरूको प्रयोगले माटोको उर्वराशक्ति घट्दै जानुका साथै विषादीयुक्त उत्पादनले स्वास्थ्यमा नकारात्मक असर पर्दै गएकाले जैविक मल र विषादीको प्रयोग गरी खेती गर्नु पर्ने आवश्यकता रहेको जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताए ।
रासायनिक मलको विकल्पको रूपमा प्रोत्साहित गर्न कृषकलाई जैविक मल, विषादी र कृषि उद्यममा सहजताका लागि कृषकको मागका आधारमा समूहका सदस्यलाई कृषि उपकरण उपलब्ध गराइएको लिडो नेपालकी कार्यकारी निर्देशक सुनिता बेल्बासेले बताइन । सामाग्री वितरणको कार्य सम्बन्धित सदस्यको मागको आधारमा प्रदान गरिने सामाग्रीलाई पारदर्शी रूपमा जानकारी गराएर वितरण गरिएको उनले स्पष्ट पारिन ।
कपिलवस्तु र रुपन्देहीका चार वटा पालिकामा सञ्चालित पिआर भिसी परियोजनामा आबद्ध ६० समूहका १ हजार ५ सय सदस्यलाई सामाग्री वितरण गर्ने कार्य गरिएको कार्यक्रमका म्यानेजर सुशील चौधरीले बताए । पिआर भिसी परियोजना अन्त्रगतको कार्यक्रममा कपिलवस्तुको मायादेवी गाउँपालिका र शुद्धोदन गाउँपालिकामा २४ कृषक समूह र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र समरीमाई गाउँपालिकामा ३६ समूह गरी कुल ६० समूह रहेकामा सोही समूह आबद्ध सदस्यलाई सामग्री वितरण कार्य गरिएको हो ।