© २०२३
नवलपरासीको विनयी खोलामा बनेको पुल शनिवारदेखि सञ्चालनमा आएको छ । पुल नबन्दा अस्थायी डाइभर्सनले उक्त क्षेत्रमा ठुलो जोखिम निम्त्याएको थियो । यसै गरी पश्चिम नवलपरासीकै झरही खोलाको पुल सञ्चालनमा आइसकेको छ । यी पुल भत्किएको घटनाले नेपालमा पूर्वाधार निर्माणका क्रममा कतिसम्म कमजोरी गरिने रहेछ भन्ने उदाहरण हुन । त्यसो त बुटवलदेखि पूर्व नारायणगढ र पश्चिम चनौटासम्म वनेका पुल ६२ वर्ष पुराना भैसकेका छन् । प्रयोगका हिसाबले ती पुलले जोखिम निम्त्याउँदै आएका छन् । अर्कोतर्फ निर्माणका क्रममा रहेका नयाँ पुल सञ्चालनमा आई नसक्दा पुराना पुलले भारबहन गर्न नसकेको अवस्था देखिएको छ ।
बर्षौ पुराना पुलले ठुलो समस्या निम्त्याउने गरेको छ । पुलजस्तो अति संवेदनशील विषयमा लापरबाही हुनु चरम पराकाष्ठा हो । अर्कोतिर अधिक भारबहन क्षमता नभएका ती पुललाई जीर्ण वनाउने काम सरकारले नै गरिरहेको छ । निर्माण भएका कतिपय पुल गुणस्तरहीन सामाग्रीको प्रयोग र प्राविधिक हेलचेक्र्याई भएको देखिएको छ । यो सरकारी सम्पत्तिमाथिको चरम दोहन र दुरुपयोग हो । अर्कोतर्फ स्थानीयले पुल निर्माण हुँदै गरेपनि कोही पनि अनुगमनमा नआएको भन्दै आपत्ती जनाएका छन् । सामान्य कमजोरी जहाँ पनि हुन्छ । त्यसलाई सच्याउन सकिन्छ । तर पुलजस्तो अति संवेदनशील निर्माणको विषयमा भएको लापरबाही क्षम्य हुन सक्दैन । मानवीय जोखिम निम्त्याउने यस्ता कर्म गर्नेमाथि हदैसम्मको कारवाही जरूरी छ ।
अहिले बर्षाको मौसम छ । यो बेला पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नदीमा निर्माण भएका पुराना र जीर्ण पुलले जोखिम निम्त्याईरहेका छन । पु्लको संरक्षण गर्ने काम हुन सकेको छैन । उचित संरक्षणको अभावमा बर्षौ पुराना पुलहरू ढल्ने अवस्थामा पुगेका छन् । त्यसको उदाहरण झरही र विनयी खोलाका पुल नै हुन । नयाँ बनेका पुलहरुको अवस्था पनि उस्तै छ । अर्थात नयाँ पुल निर्माण गर्दा गंभीर लापरबाही गरेको पाइएको छ ।
धेरै पुलहरूको बर्तमान क्षमता अधिक भारबाहन गर्नै नसक्ने छ । त्यसमाथि कमजोर गुणस्तर र अनुगमनको अभावले पुलहरूले जोखिम निम्त्याईरहेका छन् । रुपन्देहीकै कुरा गर्ने हो भने पनि बर्षौ अघि निर्माण भएका पुल आफै जोखिममा परेका छन् । ती कुनैपनि बेला ढल्न सक्छन । रूपन्देहीकै पुलको कुरा गर्ने हो भने प्रशस्तै उदाहरण छन् । बुटवलको तिनाउ पुल पनि मर्मत सम्भार र टालटुल गरि चलेको छ । करिव ४० वर्ष अघि निर्माण भएको तिनाउ पुलको विकल्प सोच्नुपर्ने हो तर पुललाई जबरजस्ती टालटुल गरेर प्रयोगमा ल्याइएको छ । यसले कुन दिन क्षति निम्त्याउने हो त्यो भन्नै नसकिने अवस्था छ । उता भैरहवा लुम्विनी क्षेत्रका पुलको अवस्था झनै कमजोर छ ।
त्यहाँ एउटाभन्दा अर्को सवारी दोहोरो पास हुने अवस्था छैन । आजभन्दा ५० बर्षअघि निर्माण भएका पुलहरुको अवस्था जीर्ण बन्दै गएको छ । अव तीनले भारबहन गर्न सक्ने अवस्था पनि छैन् । त्यही कारण लोड बोकेका ट्रक गुड्दा पुल नै हल्लिने र कमजोर बन्ने अबस्था आएको छ । मर्मत गर्नुपर्ने अवस्थाका पुलहरु मर्मत गर्ने र भत्काउनु पर्ने अवस्थाका पुल भत्काएर नयाँ निर्माण गर्नुपर्ने अव जरुरी छ । अव बलियो पूर्वाधार निर्माणमा ध्यान नदिने हो र अनुगमन नहुने हो भने तिनले निम्त्याउन जोखिमको कल्पनासम्म गर्न सकिदैन् । अहिले बर्षाको समय भएकोले पुराना पुल जोखिममा रहेको अवस्थामा नयाँ पुलहरु सञ्चालनमा ल्याउनेतर्फ पहल होस् । पुराना पुल मर्मत गरि सञ्चालन गर्नेतर्फ ध्यान जाओस् ।