© २०२३
लमही , २३ असार ।
चिकित्सकहरू आन्दोलमा उत्रिएपछि सरकारी तथा निजी अस्पतालमा इमर्जेन्सी बाहेक सबै सेवा ठप्प भएका छन् । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
आन्दोलनका कारण दाङको रापती स्वास्थ्य विज्ञान प्रतिष्ठान, रापती प्रादेशिक अस्पताल तुलसीपुर सहित सबै सरकारी अस्पताल तथा निजी अस्पतालमा इमर्जेन्सी बाहेक सबै सेवा ठप्प भएको हो ।
नेपाल चिकित्सक सङ्घको आन्दोलनका कार्यक्रम अनुसार रापती प्रादेशिक अस्पताल तुलसीपुर, रापती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगायतका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा ठप्प भएको छ । रापती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले आन्दोलनका कार्यक्रम अनुसार आज ओपिडी सेवा बन्द रहने बताए।
चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि उपचार सेवा लिन आएका बिरामीहरू मर्कामा परेका छन् । सङ्घले मिति २०८२ असार १९ गते बिहीबार विभिन्न अस्पताल प्रमुख, मेडिकल र डेनटल कलेज, चिकित्सक तथा स्वास्थ्यकर्मी सङ्घ–सुगठनहरूसँगको छलफलपछि देशभर आन्दोलनको कार्य तालिका तय गरेको हो ।
उपभोक्ता अदालतले उपचारमा लापरबाही गरेको मुद्दामा ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा संलग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो ।