© २०२३
बर्दघाट, २३ असार ।
पश्चिम नवलपरासी बर्दघाटको पारिजात सामुदायिक वन क्षेत्रमा निर्माणाधीन पर्यापर्यटन पार्कमा वृक्षारोपण गरिएको छ ।
पारिजात सामुदायिक वनको करिब २ हेक्टर क्षेत्रफलमा सल्लो, चिउरी लगायत विभिन्न जातका फलफूल रोपिएको हो । समूहले तारवार गरी सुरक्षित गरेको करिब १ हेक्टर क्षेत्रफलमा सल्लो, चिउरी, स्वामी, लगायतका २ सय ५० बिरुवा र करिब १ हेक्टर क्षेत्रफलमा आँप, लिची, कटहर लगायतका २ सय ४० बिरुवा रोपिएको हो । सल्लो चिउरी लगायतका बिरुवा पाल्पाको सब डिभिजन वन कार्यालयले र फलफूलका बिरुवा बर्दघाट नगरपालिकाले उपलब्ध गराएको पारिजात सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष राज बहादुर पाण्डेले बताए ।
करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको पर्यापर्यटन पार्क निर्माणको लागि प्रदेश सरकारबाट १० लाख, बर्दघाट नगरपालिकाबाट १० लाख र पारिजात सामुदायिक वनको १० लाख गरी ३० लाख रुपैयाँको बजेटबाट कार्य सुरु गरिएको र निरन्तर बिस्तार एवं व्यवस्थापन गर्दै लगिने समूहका अध्यक्ष कमान सिंह थापाले बताए । पार्क व्यवस्थित भएपछि आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा लिएको थापाको भनाइ थियो ।

पारिजात सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा गरिएको वृक्षारोपणमा बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, बर्दघाट उद्योग वाणिज्य सङ्घ, बर्दघाट बजार विकास समिति, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालय, इलाका प्रहरी कार्यालय, गरे के हुँदैन? समूह र स्थानीयहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बिरुवा रोप्ने र रोपिएका बिरुवालाई बचाउन सके मात्र वृक्षारोपणको उपलब्धि हुने बताए । उनले वर्षमा लाखौँ बिरुवा रोपिन्छन् तर हजार बिरुवा बच्न गाह्रो हुने बताउँदै रोपिएका बिरुवालाई जोगाउन तारबार, ट्रि गार्ड, सिँचाइ लगायतको उचित व्यवस्था हुनुपर्ने बताए । आज वृक्षारोपण गरिएको क्षेत्र पूर्ण तारबारले सुरक्षित रहेकोले रोपिएका बिरुवा हुर्कनेमा आफू विश्वस्त रहेको समेत उनले बताए ।
गरे के हुँदैन? र पारिजात वन सँगै
२०८१ मँसिर ४ गते बर्दघाट नगरपालिका वडा नम्बर ४ हरियाली नगरका युवाहरू मिली अनौपचारिक रूपमा एउटा समूह बनाए “गरे के हुँदैन?” युवाहरूको उद्देश्य थियो पारिजात सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरिरहेको पर्यापर्यटन पार्कको माथि (शिरमा) जनश्रमबाट पार्क निर्माण गर्ने । करिब १० जना स्थानीय युवाले पार्क निर्माण गर्न थालेको अभियानमा पछिल्लो समय श्रमदान गरी पार्क निर्माण र व्यवस्थित बनाउन खटिनेको सङ्ख्या दिनानुदिन बढ्दै छ ।

युवाले जनश्रमबाट बनाउन थालेको पार्कबाट बर्दघाट बजार, लगायत वरिपरिको दृश्यावलोकन गर्न सकिने र बिहान बेलुकी घुम्ने थलोको रूपमा विकसित हुँदै गएको छ । गत साता यसै पार्कमा वृक्षारोपण र जनश्रमबाट ढुङ्गा छापेर नेपालको नक्सा/झण्डा बनाउन, पार्कमा हिँड्न गोरेटो बाटो बनाउन यस क्षेत्रका सङ्घसंस्थाका प्रतिनिधि, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरूले श्रमदान गरेका थिए । आज थप वृक्षारोपण हुँदा आफूहरूलाई थप हौसला मिलेको समूहका युवा विष्णु पराजुलीले बताए ।
पारिजात सामुदायिक वन क्षेत्रको करिब ५ विगाहा क्षेत्रफलमा हामीले जनश्रमबाटै पार्क निर्माण गर्ने अभियान थालेका हौँ, वन समूह र हामी सँगसँगै छौँ, यसले थप हौसला मिलेको छ, अर्का अभियन्ता पदम पुनले भने । पार्कको फेदीमा अहिले व्यवस्थित रूपमा पर्यापर्यटन पार्क निर्माण भइरहेको छ, र शिरमा बर्दघाट बजार लगायत वरिपरिको दृश्यावलोकन गर्न सकिने रमणीय स्थल पनि सँगसँग बनिरहेको छ, यसले समग्र बर्दघाटको पर्यटनमा टेवा पु¥याउनेमा विश्वस्त समूहका सदस्यहरू सँगै सरोकारवालाहरु रहेका छन् ।