© 2026
गुल्मी, १९ असार ।
वर्षौँदेखि खोलामा पुल नहुँदा स्थानीयहरूले पाँच मिनेटको दुरीमा पुग्न पनि घण्टौँ समय खर्चिनु पर्दथ्यो । वारिपारि गर्नु परेमा बर्षादको समयमा जोखिम मोलेर खोला तर्नु पर्थ्यो । तर अहिले भने पाँच मिनेटको दुरीमा सहजै स्थानीयहरू वारिपारि गर्दै आएका छन् ।
दुई वटा वडाका गाउँहरू जोड्नका लागि पुलले निकै सहज बनाएको छ । रुरु क्षेत्र गाउँपालिका वडा नं. १ र २ अन्तर्गत थोर्गा र ग्वादीको बिचमा झोलुङ्गे पुल निर्माण भएसँगै स्थानीयहरू यति बेला निकै खुसी बनेका छन् । पुल बनेपछि वारिपारि गर्न र अर्मपर्म गर्न, बिहे भतेर र आपदविपदमा गाउँलेहरूलाई एक आपसमा सहयोग सजिलो बनाएको छ । सम्बन्धलाई नजिक बनाउनुका साथै उत्साह समेत थपिएको छ । त्यति मात्र हैन झोलुङ्गे पुलले यति बेला गाउँमा स्थानीयको दैनिकी पनि बदलेको छ ।
लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत एक करोड ८६ लाख रुपैयाँको लागतमा रुरु क्षेत्रमा उक्त पुल निर्माण गरिएको हो । झोलुङ्गे पुलले पालिकाको वडा नं १ को गोलपोखरी र वडा नं २ को चौर फाँटलाई जोडेको छ ।
झोलुङ्गे पुलले दुई गाउँलाई नजिक बनाउनुका साथै कृषकहरूलाई उत्पादित कृषिजन्य सामग्रीहरू बजारसम्म पुराउन थप सहज पुराएको रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए । उनले पुल निर्माण भएपछि ग्वादीका कृषकहरू कृषि क्रान्तिमा लागेको बताए ।
अहिले पनि पक्की पुल र कालोपत्रे सडक भन्दा गाउँघरमा झोलुङ्गे पुल बन्दा खुसी हुने मानिसहरू छन् । गाउँघरमा यस्ता प्रकारका स–साना योजनाले पनि ठुलो प्रभाव पार्ने गर्दछ । त्यसै कारण पालिकाहरूले पनि स्थानीयको माग सम्बोधनमा सङ्घ र प्रदेश सरकारसँग समन्वय गरिरहेका छन् । स्थानीय तह निर्माणपछि रुरु क्षेत्रमा मात्रै ग्वादी सहित छम्दी, तालखोला र गोलपोखरी–बेँसीकाचौर गरेर चार वटा झोलुङ्गे पुल निर्माण भैसकेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताएका छन् ।
पुलको अभावमा विद्यार्थी नहुँदा थोर्गाको कालिगण्डकी प्राविलाई रिडीमा समायोजन गर्नुपर्ने अवस्था बनेको थियो । विद्यार्थीहरू विद्यालय पुग्न डेढदेखि दुई घण्टा पैदल हिँड्नु पर्ने बाध्यता थियो । अहिले ग्वादीका विद्यार्थी पुल तर्ने बित्तिकै बस चढ्न पाउने स्थिति बनेको रुरु क्षेत्र गाउँपालिका –२ ग्वादीका ६६ वर्षीय त्रिलोचन ज्ञवालीले बताए ।
रुरु क्षेत्र गाउँपालिका–१ थोर्गाका ५३ वर्षीय महेन्द्र बहादुर सोमैको ग्वादी फाँटमा तीन रोपनी खेत छ ।
“घरबाट खोला झरेर माथि उक्लिन डेढ घण्टा लाग्ने गर्थ्यो, वर्षमा बल्लबल्ल एक बाली लगाउँदै आएका थिए, पुल बनेपछि अहिले वर्षमा तिन बाली लगाउन थालेको छु,” उनले भने । झोलुङ्गे पुल थोर्गा र ग्वादीका स्थानीयहरूका लागि गौरवको योजना हो । पुल नहुँदा बाँझो बनेका खेतबारीमा अहिले कृषि क्रान्तिसँगै वृद्ध र विद्यार्थीका लागि पनि ठुलो राहत पुगेको छ । रामकृष्ण एस.आर.जेभीले निर्माण गरेको उक्त पुलको लम्बाई ३ सय ४२ मिटर र उचाइ एक सय ३७ मिटर रहेको छ ।