© २०२३
ढोरपाटन, १८ असार ।
बुर्तिबाङ बजारसँगै जोडिएको भब्रेटा गाउँ छ । भब्रेटा गाउँमा उक्लिँदा बित्तिकै ठुलो कृषि फार्म देखिन्छ । फार्ममा लहलह फलेका काँक्रा, गोडेडा, काउली र बन्दा, फार्म छेउमै रहेको बारीमा भेटिन्छन् चन्द्रलाल पाण्डे । बारीको घाँस काट्ने, तरकारीमा पानी लगाउने र भैँसी दुहुने चन्द्रलालको दैनिकी नै हो । आकस्मिक कामबाहेक उनी फार्म छाडेर कतै जाँदैनन् । जानका लागि उनलाई फुर्सद पनि हुँदैन । करिब २० वर्ष अगाडि कतार पुगेका चन्द्रलालले पाँच वर्ष उहीँ बिताए । परदेशी भूमि, दुःखको काम त्यसमाथि साहुको गालीबोली जसले गर्दा उनलाई विदेश बस्नै मन भएन।पाँच वर्ष बिताएपछि उहाँ स्वदेश फर्किए ।
गाउँ फर्किएपछि उनले विक्रम संवत् २०६७ देखि व्यावसायिक रूपमा तरकारी खेती गर्न थाले । बिस्तारै भैँसी पालेर दूध बिक्री गर्न थाले। अहिले चन्द्रलालले तरकारी र दूध बिक्री गरेरै राम्रो आम्दानी गर्दै आएका छन् । उनले २४ रोपनी क्षेत्रमा तरकारी खेती गरेका छन् भने पाँच वटा भैँसी पालेर दैनिक ३० लिटर दूध बिक्री गर्दै आएका छन् । बुर्तिबाङ बजार नजिकै रहेको हुँदा उनले उत्पादन गरेको तरकारी र दूध बिक्रीका लागि समस्या छैन । जति पनि बजारमै खपत हुने हुँदा उत्पादन बढाउनतर्फ उनी लागेका छन् । पन्ध्र वर्षसम्म निरन्तर तरकारी खेती र दूध उत्पादन गर्दै आएका चन्द्रलाल विदेशमा भन्दा बढी खुसी र सुखी छन् । विदेशको पीडाले आफूलाई गाउँमै उद्यमी बन्न सिकाएको उनी बताउँछन् ।
‘म विदेश जानभन्दा पहिला पनि सामान्य रूपमा तरकारी खेती गरेको थिए, तर अहिले जस्तो व्यावसायिक बन्न सकेको थिएन, धेरै कमाइएला भनेर कतार पुगे, त्यहाँ त निकै कडा काम गर्नु पर्दोरैछ, साहुको नमिठो गालीबोली सहन नसकेर गाउँ फर्किएर यही केही गरौँ भनेर लागेँ’, उनले भने, ‘म अहिले ४० वर्ष भए, मेरा उमेरका धेरै युवा विदेश छन्, गाउँ फर्किएर व्यावसायिक रूपमा तरकारी खेती गर्ने हो भने साउदी कतारमा भन्दा बढी आम्दानी गर्न सकिन्छ ।’ तरकारी र दूध बेचेरै आठ जनाको परिवार चलाउनु भएको छ । बुबा, आमा, श्रीमती र चार छोराछोरी यही पेसाबाटै धानेको उनको भनाइ छ । पहिले घरपरिवार चलाउनका लागि समस्या हुने गरेको स्मरण गर्दै तरकारी खेतीले सहज रूपमा जीवनयापन गर्न सक्ने बनाएको पाण्डेले बताए ।