© २०२३
सुर्खेत,१७ असार ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ को तल्लो पर्सेनीमा बाढीको पूर्व सूचना दिनका लागि साइरन जडान गरेपछि स्थानीय खुसी भएका छन् । वीरेन्द्रनगर नगरपालिकाको–९ र २ नम्बर वडाको तल्लो तटीय क्षेत्रलाई लक्षित गरेर नगरपालिकाले रिमोटबाट चल्ने साइरन जडान गरिएको छ । नगरपालिकाले तल्लो तटीय क्षेत्रलाई प्राथमिकतामा राख्दै बाढीको पूर्व सूचना प्रणाली, वर्षा मापन केन्द्र, उद्धार सामग्री, र तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा राखेको छ । इत्रामखोला, आँपखोली र तल्लो पर्सेनी क्षेत्रमा तटबन्ध निर्माण गरिएको छ ।
विपद्को सूचना समयमै फैलाउन तल्लो पर्सेनीमा रिमोटबाट सञ्चालन हुने साइरन जडान गरिएको छ, जसले खतराको तह पार गरेपछि नगर कार्यालयसहित स्थानीय वासीलाई सतर्क गराउँछ ।वर्षेनी बाढी र डुबानको त्रास झेल्दै आएका स्थानीयहरू साइरन जडान गरेपछि खुसी भएका छन् । साइरन जडानबाट गाउँलेहरूले सुरक्षित महसुस गरेको स्थानीय सरिता खत्रीले बताइन् । ‘ठुलो पानी पर्दा सधैँ डर त्रासमा बस्न बाध्य हुनुपर्ने अवस्था थियो’ उनी भन्छिन्, ‘अब यसरी त्रासमा बस्नुपर्दैन ।’
उनका अनुसार चारैतिर नालाले घेरेको बस्ती भएकाले सामान्य वर्षा हुँदासमेत डुबानको खतरा हुन्छ । साइरन जडानका साथै र सेफ्टी जाकेटहरू वितरण गरिएकाले सुरक्षित महसुस गरिएको उनको भनाई थियो । २०७१ सालको बाढीबाट यस टोलका ३ जनाले ज्यान गुमाएका थिए ।
त्यस क्षेत्रका ६३ घरधुरीलाई लक्षित गरी साइरन जडान गरिएको नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा अन्तर्गतको आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख यामलाल गिरीले जानकारी दिए । यी वडामा वीरेन्द्रनगरको सम्पूर्ण पानी बाहिरिने निकास खोला अवस्थित छ । डुबानको उच्च जोखिममा भएका पालिका वीरेन्द्रनगरका वडा नम्बर २ र ९ हुन् ।
निकास खोलामा पानीले खतराको विन्दु पार गर्ने बित्तिकै बाढीको सूचना दिने साइरनले नगरपालिकाको कार्यालयमा समेत ’अलर्ट’को आवाज सुनिने गर्छ ।
यसले कार्यालयबाट उद्धार सामग्रीसहित परिचालन हुने मद्दत पुग्ने उनले बताए । उनका अनुसार जडान गरिएको साइरनले ५ किलोमिटर दुरीसम्मका नागरिकलाई आवाज दिनेछ । यो क्षेत्र वर्षाको समयमा बढी डुबान हुने क्षेत्र हो । बढी जोखिम भएको क्षेत्रमा साइरन जडान गरिएको उनले बताए ।
आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख गिरीका अनुसार वीरेन्द्रनगरका इत्रामखोला, आँपखोली, तल्लो पर्सेनीमा नदी कटान नियन्त्रण गर्न तटबन्ध निर्माण गरिएको छ । इत्राम खोलामा पनि तटबन्ध बनेपछि २ सय बढी घरधुरी लाभान्वित भएको नगरपालिकाले जनाएको छ । २०७१ सालमा उक्त खोलाको कटानबाट ९ घर विस्थापित भएका थिए । नगरपालिकाको सूचना प्रवाह तथा विपद् व्यवस्थापन संयन्त्र अनुसार सञ्चार प्रभावकारी रूपमा कार्यान्वयन गर्न भीएचएफ सेट, मोबाइल सेट र आपत्कालीन नम्बर १०१ समेत प्रयोगमा ल्याइएको छ ।