© २०२३
बुटवल, ११ मंसिर ।
नेवारी कला, संस्कार, संस्कृतिको संरक्षणको उद्देश्यका साथ स्थापना भएको तिलोत्तमा मैजु खलको आयोजनामा बुटवलमा चौथो पटक दुई दिने सामूहिक बेल विवाह (ईही) सुरु भएको छ ।
पुल्चोकस्थित दुर्गा भगवती मन्दिरमा आइतबार सामूहिक बेल विवाह सुरु भएको हो । नेवारी कन्याहरुको रजस्वला हुनुभन्दा अघि सुवर्ण कुमार नापं भि ईहिपा (काचो सुनसँग विवाह) गर्ने परम्परा रहेको छ । आफ्नो परम्परा, रितिस्थिती र संस्कारबारे नयाँ पुस्तालाई ज्ञान दिने रुपमा समेत कार्यक्रम महत्वपूर्ण भएको तिलोत्तमा मैजु खलका अध्यक्ष मिनु श्रेष्ठले बताईन् ।
“वार्षिक क्यालेन्डर बनाएर नै कार्यक्रम गर्दै आएका छौ”–उनले भनिन् । वर्षभरि नै मनाईने नेवारी चाडपर्वलाई संस्थागत रुपमा एकतावद्घ भई मनाउँदै आएको उनले बताईन् । सामूहिक कार्य गर्दा आर्थिक मितव्ययी हुने उनले दाबी गरिन् । सहभागीहरुबाट न्युनतम शुल्क लिएर सबै ब्यवस्थापन संस्थाले गर्ने गर्दछ । काठमाडौंबाट नै नेवारी पण्डित ल्याई विधिपुर्वक कर्म गराउने परम्परा विगतबाट नै हुँदै आएको उनले बताईन् ।
काठमाडौ साखुका नेवारी पण्डित सुधनराज राजोपाध्यायले नेवारी विधि अनुसार अभिभावकसहित कन्याहरुको विशेष पुजापाठ र दैनिक जीवन उपयोगी ज्ञानहरु दिने छन् । ईहीमा रुपन्देहीसहित नेपालगंज, नारायणगढ, स्याङ्जा, वालिङ खैरेनीका ४६ कन्याहरु सहभागी रहेको संयोजक यमुना श्रेष्ठले बताईन् । मन्दिर परिसरबाट नेवारी पोशाक, बाजासहित निस्किएको प्रभातफेरिमा बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडा सदस्य अमृत खड्का, भिमसेन नेवा समाजका अध्यक्ष लिलाप्रसाद श्रेष्ठ, अर्घाखाँची रुपन्देही सम्पर्क समाजका अध्यक्ष बाबुराम श्रेष्ठले शुभारम्भ गरेका थिए ।