काठमाडौं ।
देशभर निर्माण सामग्रीको मूल्य घट्न थालेको छ। पछिल्लो समय सिमेन्ट र डन्डीको माग घटेपछि उद्योगीहरूले दुबै सामग्रीको मूल्य घटाएका हुन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म र डन्डीको मूल्य प्रतिकिलो ५ रुपैयाँसम्म घटाइएको छ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले निर्माण कार्यमा बर्खाको समयमा कमी आउँदा माग घट्ने भएकाले मूल्य घटेको स्पष्ट पारे। साथसाथै उद्योगमा लोडसेडिङ कम हुँदा उत्पादन लागत पनि घटेको उल्लेख गरेका छन्।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार, हाल ओपीसी सिमेन्टको भाउ ६ सयदेखि ७ सय रुपैयाँसम्ममा झरेको छ, जुन अघिल्लो मूल्यभन्दा करिब १ सय रुपैयाँ कम हो। डन्डीको मूल्य पनि ९६ रुपैयाँबाट घटेर ८२–८५ रुपैयाँ प्रतिकिलो पुगेको छ।
यसअघि उद्योगीहरूले लोडसेडिङ र कच्चा पदार्थको मूल्य वृद्धिलाई कारण देखाउँदै ओपीसी सिमेन्टको मूल्य ६७५ देखि ८०० रुपैयाँ, र पीपीसी सिमेन्ट ५५० देखि ६७५ रुपैयाँसम्म पुर्याएका थिए। बर्खा सकिएसँगै निर्माण कार्य पुनः तीव्र हुने भएकाले आगामी महिनामा फेरि मूल्य बढ्न सक्ने अनुमान गरिएको छ।



