© २०२३
भात प्रतिष्ठा
उहिलेको जमानामा पहाडमा अलि फटाहा मान्छेको भान्सामा मकैको आटो, ढिंडो पाक्दा एकमुठी चामलको भात समेत पाक्थ्यो रे ! घर बाहिर पाहुना वा अन्य मानिसहरू बसेको दिनमा घरका मान्छेले ढिंडो, आटो खाएर उठ्ने बेलामा अलिकता भात हातमा र मुखमा दलेर हातमा भातको डल्लो समातेर बाहिर निस्केर कुकुरलाई बोलाएर भातको डल्लो खान दिन्थे रे ! कुकुरलाई समेत भात दिएको देखेर भेट्न आएका मान्छेहरू त्यो घरका मान्छेहरू भयङ्कर धनी रहेछन् भनेर सम्मान गर्थे रे ! आफुलाई शक्तिशाली देखाउनको लागि अपनाईने भाते अस्त्रको प्रभाव धान उत्पादन नहुने ठाउँमा बाहिरबाट अन्न चामल पुग्न नसक्ने अवस्थासम्म कायमै रहेको थियो । अहिलेपनि दुर्गमका मानिसहरूले घरमा खाने चामल नहुनुलाई अत्यन्त दयनीय अवस्थाको रूपमा प्रस्तुत गरिरहेको देखिन्छ । लामो दुरी हिंडेर खाद्यको डिपो वा बजारबाट चामल किनेर घरमा लैजान पाउनुलाई ठूलै उपलब्धि ठान्ने ठाउँहरू अझैपनि धेरै छन्.। घरमा अन्य अन्नको भण्डार राम्रै रहेपनि भात खान नपाउनुलाई ‘खानेकुरा केही छैन’ भन्नेहरूको जमात पहाडी र हिमाली क्षेत्रमा ठूलै छ ।
धान संस्कृति
धान रोपाईलाई नेपालमा किसानहरूले चाड सरह मान्ने गर्छन् र कृषिमा गर्ने मेहनतमध्ये धेरै मेहनत धानको लागि गरिरहेका हुन्छन्. । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरूमा धान र चामल धार्मिक अनुष्ठानको अनिवार्य वस्तुको रूपमा रहेको छ । धामीले जोखाना हेर्दा होस् वा मान्छे मरेपछि पिण्ड बनाउन होस्– त्यहाँ चामलकै प्रयोग गरिन्छ । चाडपर्व र पुजाआजामा लगाईने टिका, दशैमा कपालमा सिउरिने जमराको लागि पनि धान र चामलको जोहो गर्ने गरिन्छ । जनजातिहरूको संस्कृतिको रूपमा रहेको जाँड उत्पादनमा चामलले प्रमुख स्थान ओगटेको हुन्छ । रोपाईलाई सामाजिक उत्सव र समाजमा घुलमेल हुने अवसरको रूपमा लिने गरिन्छ । यी सबै कारणले नेपालमा धान संस्कृतिको प्रमुख अंग र किसानहरूको जीवन पद्दतिको पहिचान बनिरहेको छ ।
धान उत्पादन
नेपालमा हिमालदेखि तराई मैदानसम्म धानको खेती हुन्छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धान बाली लगाइन्छ । नेपालमा चैते धान र बर्खे धान गरि दुईपटक धान खेती गरिने भएपनि चैते धान उत्पादनको मात्रा निकै कम छ । आर्थिक सर्भेक्षण २०८१÷८२ का अनुसार चालु आर्थिक वर्षमा १४ लाख २० हजार ६४० हेक्टर जमिनमा धान खेती गरिएको छ । धान खेती गरिएको यो क्षेत्रफल गत आर्थिक वर्षको भन्दा करिब १९ हजार हेक्टरले कम हो । चालु वर्षमा नेपालको कुल खाद्यान्न उत्पादनको ५२ प्रतिशत हिस्सा धानबालीले ओगटेको देखिन्छ । गत आर्थिक वर्षमा नेपालमा ५७ लाख ४० हजार मेट्रिक टन धान उत्पादन भएको सरकारी रेकर्ड छ । चालु आर्थिक वर्षमा ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने सरकारको अनुमान छ ( आर्थिक सर्भेक्षण २०८१÷८२) । धान उत्पादन हुने क्षेत्रफल खुम्चिदै गएको, कृषिमा जलवायु परिवर्तन र विपदको असर बढ्दै गएको र कृषिमा जनशक्तिको अभाव बढिरहेको अवस्थामा नेपालमा धान खेती गरिने क्षेत्र र धान उत्पादनको परिमाण बढ्दै गएको तथ्यांकमा विश्वास गरिहाल्न नसकिने भएपनि नेपालमा वार्षिक ५० देखि ५५ लाख मेट्रिक टन धान उत्पादन भैरहेको अनुमान गर्न सकिन्छ ।
बढ्दो धान चामल आयात
पहाडी क्षेत्रमा यातायातको सुविधा नपुगेकोले त्यस क्षेत्रमा धान चामल लैजाने प्रवृति नभएको तथा अन्य क्षेत्रमा धानको खपत कम हुने भएको अवस्थामा वि.स. २०४० सम्म नेपालमै सरकारी कम्पनि खडा गरेर नै विदेशमा धान चामल निर्यात गरिरहेको कुरा अहिले इतिहास बनिसकेको छ । आर्थिक बर्ष २०७४/७५ मा नेपाल सरकारले आगामी ५ बर्षमा धानमा मुलुकलाई आत्मनिर्भर बनाउने घोषणा गरेको थियो । सरकारी तथ्यांकमा धान उत्पादन बढिरहेको देखिएपनि नेपालमा विदेशबाट धान र चामल आयातको आंकडा वर्षेनी बढ्दो छ । आर्थिक वर्ष २०७०/७१ मा नेपालमा विभिन्न मुलुकबाट १ लाख ६५ हजार २९५ टन धान र ४ लाख ८७ हजार ६०० टन चामल आयात भएकोमा चालु आर्थिक वर्षमा जेठसम्म ५ लाख २१ हजार टन धान र २ लाख २९ हजार ४६५ टन विभिन्न किसिमको चामल आयात भएको भन्सार विभागको गत जेठ सम्मको आयात निर्यातको तथ्यांकले देखाउछ । गत आर्थिक वर्षमा २१ अर्ब ३४ करोड रुपिया बराबरको धान र चामल आयात भएकोमा चालु आर्थिक वर्र्षको १० महिनामा मात्र ३५ अर्ब ५३ करोड रुपियाँको धान र चामल आयात गरिएको छ । धान चामल आयातको यो आंकडाले देशलाई चामलमा आत्मनिर्भर बनाउने सरकारी घोषणालाई गिज्याईरहेको छ ।
शंकास्पद तथ्यांक
सरकारी तथ्यांक अनुसार आर्थिक वर्ष २०७१÷७२ मा नेपालमा १३ लाख ६२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको थियो । चालु आर्थिक वर्षमा धान खेती हुने खेतको क्षेत्रफल वृद्धि भएर १४ लाख २० हजार हेक्टर पुगेको आर्थिक सर्भेक्षण २०८१/८२ मा उल्लेख छ । धान खेती हुने मुख्य क्षेत्र उपत्यकाहरू र तराईको भूभाग हो । उपत्यका र तराईमा यो दशकमा उच्च आप्रवासनले गर्दा खेतीयोग्य जमिन मासेर ठूला वस्तीहरू निर्माण भएका छन् । यस्तो अवस्थामा धान खेती गर्ने जग्ग्गको क्षेत्रफल बढ्यो भन्ने कुरामा विस्वास गर्न सकिदैन । बाढी पहिरोले वर्षेनी खेतीयोग्य भुमि विनास भैरहेको छ । २०८१ सालमा प्राकृतिक विपदबाट ५८ हजार ५०० हेक्टर धान खेती हुने जमिनमा क्षति पुगेको थियो । यसको प्रभाव धान उत्पादन गर्ने खेतमा नपर्ने भन्ने हुदैन । सिचाई सुविधा नपुग्दापनि आकाशे पानीको भरमा समथर खेतहरूमा धान खेति भैरहेकोले सिचाई सुविधा बढेकोले धान खेती गर्ने क्षेत्रफल बढ्यो भन्ने तर्क पनि सुहाउँदो हैन । वन मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सन् २०१९ देखि २०२२को अवधिमा मात्र नेपालमा खेतीपाती गरिने जग्गाको क्षेत्रफल १.६७ प्रतिशतले घटेको छ । बसाईसराईले गर्दा पहाडी क्षेत्रमा धान खेति गर्ने क्रम घटेको छ । यस्तो अवस्थामा सरकारी तथ्यांकहरूमा धान खेती हुने जग्गाको क्षेत्रफल र धान उत्पादन बढेको देखिनुलाई पत्याईहाल्न सकिदैन ।
धान उत्पादनमै सकस
नेपालमा धान उत्पादनमा अनियमितता आउनुमा प्राकृतिक र मानवीय दुवै कारणहरू जिम्मेवार देखिन्छन् । प्राकृतिक प्रकोप, सिंचाइको अपर्याप्तता, मलखादको कमी र धान खेती गरिने जग्गाको क्षेत्रफलमा कमी जस्ता कारणले धान उत्पादन घटाउन भूमिका खेलिरहेका छन् । नेपालमा धानको कुल उत्पादन र उत्पादकत्व वर्षामा निर्भर रहिआएको छ । विगत केही वर्षको तथ्यांकलाई केलाएर हेर्दा मौसम अनुकूल भएका वर्ष धान चारदेखि पाँच लाख मेट्रिक टन बढी फलेको र मौसम प्रतिकूल भएका वर्ष यति नै मात्रामा घटेको देखिन्छ । अहिले पनि धेरै धान खेतहरूमा सिंचाइको व्यवस्था हुन सकेको छैन । नेपालको कूल २६ लाख ४१ हजार खेतीयोग्य जमिनमध्ये हालसम्म ५९.६ प्रतिशत जमिनमा मात्र सिचाई सुविधा पुगेको छ (आर्थिक सर्वेक्षण २०८१/८२) । ४०.४ प्रतिशत भन्दा बढी खेतीबारी सिचाइको लागि आकासे पानीमा नै निर्भर छन् भने खोला/नदीमा आधारित सिचाई प्रणाली पनि आकासे पानीमा नै निर्भर रहेको छ । राम्रोसंग वर्षा नभएको समयमा यी श्रोतबाट पानी उपलब्धतामा कमी आउने र खडेरीको समयमा भूमिगत पानी पनि उपलब्ध नहुने भएकोले धानबालीमा सिंचाई सुबिधा पु¥याउन समस्या परिरहेको छ । मनसुनको समयमा हुने अनियमित वर्षाले गर्दा पनि धान खेतीले ठूलो नोक्सानी बेहोर्नु पर्दछ । प्राकृतिक प्रकोपको चपेटामा धान खेती हुने जमिन घट्ने तथा सिमा क्षेत्रमा बनाईएका भारतीय बाँधको कारणले दक्षिणी क्षेत्रका धान खेतहरू डुवानमा पर्ने क्रम बढ्दो छ ।
ग्रामिण क्षेत्रमा समेत अचेल पशुपालन गर्ने प्रचलन घट्दो छ । पशुपालन घट्दा प्रांगारिक मलको उत्पादन घट्न पुगेको छ र खेतको उर्बराशक्ति बढाउन रासायनिक मलको प्रयोग गर्ने प्रचलन बढ्दो छ । नेपालमा रासायनिक मल उत्पादन नहुने भएकोले किसानहरूले धान रोप्ने बेलामा कहिल्यै पनि पर्याप्त रासायनिक मल पाउँदैनन् । तराईमा खुल्ला सिमानाको कारणले भारतबाट केहि सहजरूपमा मलखाद ल्याएर प्रयोग गर्न सकिएपनि पहाडी क्षेत्रमा सधै मलको अभाव हुने गरेको छ । किसानहरूले हावापानी र माटो सुहाउँदो यस्ता उन्नत जातका धानहरू प्रयोग नगरी पुरानो र भारतबाट आयातित कमसल धानको विउ प्रयोग गरिरहेका छन्। त्यसैगरी धान खेतीमा आधुनिक प्रविधिको प्रयोग अति न्यून छ । केही दशकयता खेतीपाती गर्ने मानिसहरूको संख्या निरन्तर ओरालो लागिरहेको छ । श्रम शक्तिको कमी र सिंचाईको असुविधाले गर्दा पहाडमा धान खेती गर्न छोडिएको छ र यो समस्या तराईमा पनि फैलिदो छ । यी सबै कारणले नेपालमा धान उत्पादन र उत्पादकत्व बढ्न सकेको छैन ।
स्कृति, स्वाद र प्रतिष्ठाको मानक बनाईएकोले नेपालमा चामलको माग धेरै छ र उत्पादनको सम्भावना पनि प्रसस्त छ । भात खान खोज्ने ठूलो जनशक्ति देश बाहिर भएकोले अहिले नेपालमा उत्पादन गरेको धान चामलको सहि उपयोग गर्ने हो भने मात्रपनि देश बाहिरबाट धान चामल आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुन सक्छ । तर, धान उत्पादन, भण्डारण र चामलको प्रयोगमा उचित ध्यान दिन नसक्दा नेपालमा हरेक वर्ष चामल अभाव र चामल आयात बढिरहेको छ । चामल जस्तो सर्वप्रिय खाद्यान्नको उत्पादन घट्दै जानु र आयात बढ्दै जानुलाई आर्थिक र सामाजिक दृष्टिले राम्रो भन्न सकिन्न । नेपालको हावापानी र यहाँको भू–वनोट धान उत्पादनको लागि उपयुक्त भएकोले धान उत्पादनमा राज्य र जनस्तरबाट विशेष पहल हुनुपर्दछ । खेतीयोग्य जमिनको संरक्षण, सिँचाईको उचित व्यवस्था, सिफारिस गरिएका धानका प्रजातिहरू मात्र रोप्ने र राज्यले किसानलाई सिंचाई, मलखाद र कृषि प्रविधिको प्रयोगमा सहयोग गर्नुपर्दछ । यस्ता कामहरूले मात्र नेपालमा धान उत्पादन बढाएर धान चामलको आयात प्रतिस्थापन गर्न सकिनेछ ।