© २०२३
प्रत्येक बर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म लैगिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा पनि शुक्रवारदेखि औपचारिक कार्यक्रमको आयोजना गरि मनाउन थालिएको छ । यो दिवसको नारा ‘सभ्य समाजको पहिचानः लैंगिक हिंसाविरुद्धको अभियान’ भन्ने तय गरिएको छ । यसैक्रममा नेपाल सरकारले मंसिर ९ लाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रुपमा समेत मनाएको छ । त्यसो त अहिले लैंगिक हिंसा नेपालमा मात्र होइन विश्वभरि नै व्याप्त छ । कतै यौन दुव्र्यवहार, कतै सांस्कृतिक हिंसा, कतै राज्यद्वारा हुने विभेद र हिंसा व्यापक छन् । विशेषगरी नेपाल लगायतका विकासोन्मुख देश, दक्षिण एशियाका देशहरूमा जहाँ अशिक्षा बढी छ, गरिबी छ, सामन्ती अर्थ व्यवस्था छ, महिलाहरू आर्थिक अधिकारबाट वञ्चित छन् त्यहाँ अझ बढी यस्ता हिंसा व्याप्त छन् । महिला विरुद्ध हिंसा गम्भीर मानवअधिकार उल्लंघनको सवाल हो । यसले व्यक्तिको स्वतन्त्र र सम्मानित भएर बाँच्न पाउने नैसर्गिक अधिकारबाट बञ्चित गराउँछ । महिला विरुद्ध हुने हिंसा रोक्न सरकारले विभिन्न पहल गर्दै नआएको होइन । यसका लागि कानूनी तथा नीतिगत व्यवस्था, संरचनात्मक तथा संस्थागत व्यवस्थाका साथै चेतना अभिवृद्धिमा विस्तारका नीतिहरू व्यवस्था गरिएका छन् । तथापि अहिलेपनि महिला हिंसाको अवस्थामा खासै सुधार आउन नसकेकोले सुधारका प्रयासलाई अनुगमन र मूल्यांकनलाई निरन्तरता दिंदै अझ सशक्त प्रभावकारी र सहभागीतामूलक बनाउंदै लैजानु आवश्यक छ । हिंसाविरुद्ध राजनीति लगायतका विभिन्न खाले अतिवादको अन्त्य गरी प्रभावित, पीडितलाई छिटो छरितो र सरल तरिकाले न्याय दिलाउन राजनीतिक प्रतिवद्धता र तत्परता जरुरी छ । लैंगिक हिंसाको मूल कारण र यसको असरका बारेमा व्यापक जनचेतना अभिवृद्धि गर्नुका साथै प्रभावितसंग काम गर्ने निकायहरूको क्षमता अभिवृद्धि गर्नु अत्यन्त आवश्यक छ । सरकारले हिंसा अन्त्यका लागि विभिन्न समयमा दिवसका रुपमा मनाएपनि अपेक्षाकृत सफलता हासिल नभएको पाइएको छ । आगामी दिनमा हिंसा नियन्त्रणमा जरैदेखि अभियानमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक देखिएको छ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान जारी रहेकै अवस्थामा पनि महिला, पुरुष तथा अन्य घरेलु हिंसाका घटना सुन्नु परिरहेको छ । हिंसाको परिभाषामा विगतमा महिला हिसालाई मात्र समावेश गरिन्थ्यो तर पछिल्लोसमय पुरुषमाथि हुने हिंसालाई पनि हिंसाकै रुपमा ब्याख्या गर्न लागिएको छ । जनसुकै कारणले भए पनि प्रायः यस्ता घटना महिलासँग सम्बन्धित हुने गर्दछन् । महिला भएकै कारणले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा हुने हिसाजन्य कार्य नै महिला हिंसा हो । विशेषतः पितृ सत्तात्मक मूल्य र मान्यतामा आधारित असन्तुलित सामाजिक संरचना नै महिला हिंसाको प्रथम पुस्ताको कारकको रुपमा देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय साधारण सभाले २० डिसेम्बर १९९३ मा पारित गरेको महिलाविरुद्धको हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र अनुसार पनि महिलाविरुद्धको हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा हुने हिंसाजन्य कार्य हो । महिला हिसाको अर्को रुप घरेलु हिंसा पनि हो । पछिल्लो समय लैंगिक हिंसा न्यूनिकरणका लागि धेरै प्रयास भएका छन । तर, ती परिणाममा शून्यको अवस्था छ । अहिलेपनि दैनिकजसो हिंसाका घटना भैरहेका छन । अवका दिनमा त्यस प्रकारका हिंसाको न्यूनीकरण गर्नु जरुरी छ । फेरिपनि महिला, पुरुष तथा घरेलु हिंसाका घटना न्यूनिकरण गर्न नेपाल सरकार लगायत सम्वद्ध संघ संस्था एवं नागरिक समाजको सहकार्यवाट मात्रै संभव छ । लैंगिक हिंसा अन्त्यका लागि १६ दिने अभियानको बेलामात्र होइन, ३६५ दिन नै सकृयता र सजगता आवश्यक छ । यो समस्या समाधानका लागि फेरिपनि कानुनले मात्र संभव छैन । यस्तै जनचेतनामूलक र अभियानमुखी कार्यक्रमको खाँचो छ ।