© २०२३
कपिलवस्तु, १४ असार ।
कपिलवस्तु जिल्लाका युवा अगुवाले तिनै तहको सरकारको बजेटमा युवा लक्षित कार्यक्रमले प्राथमिकता नपाएको गुनासो गरेका छन् । कपिलवस्तुको तौलिहवामा परिवर्तनका लागि बालबालिका, युवा र समुदाय परियोजना (सिवाईसिसी) परियोजनाको अगुवाइमा प्रगतिशील युवा समाज मायादेवीले आयोजना गरेको युवाका सवालमा प्रदेशसभा सदस्य तथा सरोकारवाला सँगको अन्तरक्रियाका सहभागीले सो गुनासो गरेका हुन । युनाईटेड मिसन टु नेपाल (युएमएन) र दलित सामाजिक विकास केन्द्र (डिएसडीसी) को सहयोगमा आयोजित कार्यक्रममा सहभागी युवाले प्रदेश र स्थानीय तहले पूर्वाधारलाई मात्रै प्राथमिकतामा दिएको गुनासो गरेँ ।
जिल्लाको मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिका, महाराजगन्ज नगरपालिका, कृष्ण नगर नगरपालिका र कपिलवस्तु नगरपालिकाका युवा सहभागी रहेको कार्यक्रममा स्थानीय तहको वडा देखी पालिका सम्मको बजेट विनियोजन, युवा लक्षित कार्यक्रमको कार्यान्वयनमा समेत स्थानीय युवा क्लब, समिति र सञ्जालहरूले खासै प्राथमिकता पाउन नसकेको उनीहरूले बताए । सङ्घ, प्रदेश र स्थानीय तहले युवा सहित लक्षित वर्गका लागी पर्याप्त बजेट विनियोजन र सो को सही सदुपयोग गर्नु पर्नेमा वक्ताहरूले जोड् दिए । पालिकामा बजेट बन्दा दिएको युवाका कार्यक्रमको सुची नै नपर्ने गरेको मायादेवी १ का युवा निजर कुमार पाण्डेयले आरोप लगाए ।
प्रदेश सरकारका सदस्यहरुले पुर्वाधारको योजना मात्रै माग गर्ने तर युवाका लागी प्रदेशसभा सदस्यले के गरे भन्ने प्रश्न मायादेवी २ की सुनिता कुमारी कोहारले गरिन । बेरोजगारी नियन्त्रणका लागी प्रदेशसभा सदस्यले भूमिका खुल्न नसकेको र प्रदेश सरकारले केही नगरेको उनले बताइन । सदनमा युवा स्वरोजगारको मुद्दा किन नउठाएको भन्दै अर्का युवा रोहित कुमार बरुणले प्रदेशसभा सदस्य मधुसुदनशरण चौधरी सँग प्रश्न गरे । स्थानीय तहले युवा लक्षित र सामाजिक विकासका कार्यक्रम बनाउनु पर्ने र सही व्यक्तिलाई कार्यक्रममा सरिक गराउनु पर्ने एकता किशोर किशोरी सञ्जालकी लक्ष्मी हरिजनको माग थियो ।
युवाहरूको प्रश्नको जवाफ दिँदै आफू निर्वाचित भएर आएको अवधिमा सङ्घीयता बुझन नपाएको कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को २ का प्रदेशसभा सदस्य मधुसुदन शरण चौधरीले गुनासो गरे । प्रदेशसभा सदस्यको कुनै अधिकार नभएको भन्दै उनले चित्त दुखाए । शिक्षामा सुधार बिना समुदायको सुधार नहुने उनको भनाई थियो । शिक्षामा राजनीति गर्न नहुनेमा जोड दिँदै उनले छोरी शिक्षालाई प्राथमिकता दिए मधेसका अधिकांश विकृति रोकिन सहयोग पुग्नेमा जोड दिए । पूर्वाधार निर्माण मात्रै नभएर अब युवा लक्षितका लक्षित समुदायका लागी सामाजिक विकासका कार्यक्रम प्राथमिकताका साथ गर्नु पर्ने आवश्यकता रहेको लुम्बिनी प्रदेशका पूर्व भौतिक योजना मन्त्री सहसराम यादवले बताए ।
उनले आफू छोटो समयका लागी मन्त्री हुँदा जिल्ला र आफ्नो निर्वाचन क्षेत्रका लागी ल्याएको विकास योजना र बहुबर्षिय योजना कार्यान्वयनको चरणमा भएका कारण सो क्षेत्रमा पूर्वाधार निर्माणले तीव्रता पाएको दाबी गरे । शासन सक्तामा पहुँच वृद्धि गर्न जनप्रतिनिधिको आफ्नो भूमिका पनि आवश्यक रहने उनको भनाई थियो । जिल्ला समन्वय समितिले सबै पालिका बिच समन्वय, अनुगमन र रिपोर्टिङ गर्दै आएको र युवाका क्षेत्रमा मायादेवी गाउँपालिका सञ्जालमामा भएका असल अभ्यासलाई विभिन्न निकायमा रिपोर्टिङ गरिएको जिल्ला समन्वय समिति कपिलवस्तुका उपप्रमुख रमेश कुर्मीले बताए । अब युवाले कुनै निकायको मुख: ताक्ने भन्दै पनि आफै प्रतिस्पर्धी बनेर अगाडी बढ्नु पर्ने गैर सरकारी संस्था महासङ्घ कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डेयको भनाई थियो ।
युवाका मुद्दा सम्बोधन गर्न सबै पक्षलाई जिम्मेवार बनाउन कार्यक्रमले भूमिका खेलेको डिएसडिसीका कार्यकारी निर्देशक रामशरण रैदासको भनाई थियो । युवा लक्षित योजनाका लागी सबै तहमा बजेट विनियोजन र कार्यान्वयनका लागी समन्वय आवश्यक रहेकोमा प्रगतिशील युवा समाज मायादेवीका अध्यक्ष दुर्गेश यादवले जोड दिए । कार्यक्रममा सिवाईसिसीका संयोजक जितेन्द्र चौधरी, प्रगतिशील युवा समाज मायादेवीका सचिव बिन्देश्वरी यादव, सल्लाहकार सुनिता कश्यप, सिवाईसिसीका शिक्षा संयोजक रामरेखा बरुण लगायतले लक्षित बर्ग केन्द्रित कार्यक्रममा सहकार्यले युवाको क्षमता विकासमा सहयोग पुग्ने बताए । कार्यक्रममा सिवाईसीसि कार्यक्रम अन्तर्गतका युवा क्लब र सञ्जालले गर्दै आएका कार्यक्रम, आगामी योजना, युवाका क्षेत्रमा भएका सफल अभ्यास, कमजोरी, सिकाई र अवसर बारेको ग्यालरी प्रस्तुतीकरणको सरोकारवालाले अवलोकन गरेका थिए ।