© २०२३
पशुपतिमा विद्युतीय शव दाह गृह मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पु¥याएर भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आइतबार यो समाचार पहिलो पटक सार्वजनिक भइरहँदा धेरै नेपालीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिए– नेपालीले मौका पाए मरेको लाशमाथि पनि भ्रष्टाचार गर्न छोड्दैनन् । वास्तवमा यो घटना सामान्य होइन, नेपालीको शिर निहुराएको एउटा जघन्य भ्रष्टाचारको नमुना हो । यो भ्रष्टाचारजन्य घटनाको निन्दा र भर्त्सना जति गरे पनि कम हुन्छ । पशुपति क्षेत्र हामी करोडौँ नेपालीको आस्थाको केन्द्र हो ।
पशुपति हिन्दु धर्मावलम्बीका लागि श्रद्धाको धरोहर हो । तर आस्थाको धरोहर यही पशुपतिमा पनि भ्रष्टाचार गर्नेहरू अरू कोही होइन, नेपाली नै हुन भन्दा अत्यन्त पीडा बोध हुन्छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जना व्यक्ति र दुई वटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले सदस्य सचिव थापासहित कोषका तत्कालीन निमित्त सदस्य सचिव एवम् अहिले परिषद् सदस्य राजु कुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, उपनिर्देशक रेवती रमण अधिकारी, तत्कालीन उपनिर्देशक सीताराम रिसेल, इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, पुलचोक इन्जिनियरिङ क्याम्पस इलेकट्रिकल विभागका उपप्राध्यापक युवराज अधिकारी, कानुनी सल्लाहकार एवम् मूल्याङ्कन समितिका लैनबहादुर थापा, म्याप अन्टरप्रिनर्स प्रालिका सञ्चालक मनोज पुरी र यदुनन्दन भट्टराई तथा इन्जिनियरिङ कन्सल्टेन्ट सुरज चापागाईँविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले उनीहरू विरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रूपैयाँ बिगो कायम गरेको छ । यद्यपि यो घटनामा अदालतको आदेश के आउँछ भन्ने कुरा भोलीको दिनले देखाउँछ तर अख्तियारले त्यत्तिकै अनुमानका भरमा यो मुद्दा दायर गरेको होइन भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । नेपालीले पदको दुरुपयोग गर्ने मौका पाए श्रद्धा र धार्मिक आस्थाको धरोहर पशुपतिमा त भ्रष्टाचार गर्न बाँकी लाउँदैनन् भने अरू क्षेत्र किन छोड्थे ? यो गम्भीर प्रश्न हो । यो भ्रष्टाचारको घटनाले सारा नेपालीको शिर निहुराएको छ । पशुपति नाथ भगवानप्रति आस्था राख्ने करोडौँ भारतीय छन् । ती भारतीयले पशुपतिमा भएको भ्रष्टाचारको यो घटना थाहा पाए उनीहरूको मनमा नेपालीप्रति कस्तो भाव जागृत हुन्छ होला ? यो चानचुने विषय होइन । यो घटनामा संलग्नहरू दोषी ठहरिए भने उनीहरूमाथि कडा कारबाही चलाउनुपर्छ ।
पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हरेक दिन जसो भ्रष्टाचारको आरोपमा छानबिन प्रक्रियालाई तीव्र बनाएको छ । अख्तियारले दायर गरेको मुद्दाको प्रकृति हेर्दा लाग्छ– नेपाल भ्रष्टाचारले दुर्गन्धित भैसकेको छ । भ्रष्टाचार मुद्दाको चाङ हेर्दा लाग्छ– देशमा मौका र अवसर पाएको खण्डमा भ्रष्टाचार नगर्ने युधिष्ठिर पाउन निकै गाह्रो छ । देश भ्रष्टाचारबाट आक्रान्त छ । कर्मचारीलाई भ्रष्टाचारमा प्रश्रय दिने नेताहरू नै हुन । देशमा यस्तो भइसक्यो– नेता र कर्मचारी मिलेर जे गरे पनि हुन्छ भन्ने मानसिकता बढ्दै गएको छ । देशमा कतिसम्म बेथिति जन्मिएको छ भने २०४६ सालको जनआन्दोलनका दमनकारीहरूलाई मल्लिक आयोगले अपराधी सावित गरी कारबाहीको सिफारिस गरेकोमा प्रतिवेदनले ठहर गरेका सबैलाई पुरस्कृत गरियो ।
२०४६ सालयता तीन हजारभन्दा बढी मुद्दा फिर्ता लिने काम भयो । आजसम्मै यस्तै प्रक्रियाले निरन्तरता पाइरहेको छ । मल्लिक, लम्साल र रायमाझी आयोगका प्रतिवेदनहरू प्रतिवेदनमा मात्र सीमित बने । यी केही उदाहरण मात्र हुन । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०४६ यता सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । उनले भनेको जायज हो– नेपाललाई अब नेपाल बनाउने हो भने भ्रष्टाचार छानबिन गर्न शक्तिशाली आयोग बनाऔँ । भ्रष्टाचारमा दोषी प्रमाणित भए दण्डित गरौँ ।