© २०२३
विराटनगर।
इलामकी एक कोरोना संक्रमित महिलाको नोबेल शिक्षण अस्पताल, विराटनगरमा मृत्यु भएको छ। अस्पतालका प्रबन्धक दीपेश राईका अनुसार ३९ वर्षीया ती महिला मंगलबार बिहान उपचारको क्रममा आकस्मिक कक्षमै निधन भएको हो।
मृतक महिलाको ठेगाना सूर्योदय नगरपालिका, इलाम रहेको छ। केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा परीक्षण गरिएको थियो। परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि नोबेल अस्पतालमा भर्ना गरिएकी थिइन्। सात दिनदेखि उनी श्वासप्रश्वासमा समस्या, ज्वरोजस्ता लक्षणबाट पीडित रहेको अस्पताल स्रोतको भनाइ छ।
मृत्युपछि महिलाको शव प्रहरीको जिम्मा लगाइएको छ।
यसैबीच, कोशी प्रदेशमा फेरि कोरोना संक्रमण देखिन थालेको छ। प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये झापाका ४ जना, मोरङका २ जना र इलामका २ जना संक्रमित छन्। यस्ता घटनाले पुनः सचेत हुनुपर्ने अवस्था देखाएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।