© २०२३
जीतपुर, १० असार ।
बाणगंगा नगरपालिकाका उपप्रमुख रिताकुमारी चौधरीले बाणगंगालाई हिंसा र विभेदमुक्त नगर बनाउन चाहेको बताएकी छिन् । विगतमा भन्दा अहिले तुलनात्मक रूपमा हिंसा र विभेद न्यून भएको बताउँदै उनले बाणगंगालाई हिंसा र विभेदमुक्त नगर बनाउने परिकल्पनासहित अघि बढेको बताइन् । आइतबार श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको आयोजना र सहयोगी महिला बहुउद्देश्यीय सहकारी संस्थाको सह आयोजनामा भएको लैङ्गिक हिंसा विरुद्धको एक दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले यस्तो बताएकी हुन ।
उक्त कार्यक्रममा एकल, दलित, महिला, जनजाति, यौनिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो । अधिकांश विभेद, हिंसाहरू आर्थिक अवस्था कमजोर हुँदा सिर्जना हुने भएको भन्दै उनले हरेक व्यक्ति पेसा व्यवसायमा जोडिन आवश्यक रहेको बताइन् । अहिले पनि समाजमा तेस्रो लिङ्गीलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको भन्दै उनले यसमा सुधार हुन आवश्यक रहेको बताइन् ।
श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुसिलसिंह ठकुरीले समाजमा अहिले पनि विभिन्न हिंसा र विभेदका घटनाहरू भइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले विभेदमुक्त समाज आवश्यकता रहेको बताए । संविधानले हरेक वर्गको हक अधिकार सुनिश्चित गरे पनि व्यवहारमा त्यसको कार्यान्वयन फितलो भएको बताए ।
श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहका सचिव सुष्मा खाँणको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा सिद्धार्थ सामाजिक विकास संस्थाका अध्यक्ष सूर्यकुमारी शाही, वनका सल्लाहकार विष्णु थापा, सुनिता सेन लगायतका वक्ताहरूले आआफ्नो भनाई राखेका थिए । कार्यक्रममा मानव लैससास विषय विज्ञ रिमा बिसीले सहजीकरण गरेकी थिइन् ।