© २०२३
चितवन।
चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी असार १५ गतेदेखि अस्थायी रूपमा बन्द गरिने भएको छ। वर्षा सुरु भएसँगै सडक असहज हुने भएकाले निकुञ्ज प्रशासनले यो निर्णय गरेको छ।
सूचना अधिकारी अविनाश थापामगरका अनुसार, वर्षाले बिग्रिएको सडक मर्मत भएपछि मात्र जीप सफारी पुनः सञ्चालनमा आउनेछ।
गत वर्ष पनि असार १६ गतेदेखि जीप सफारी बन्द गरी असोज २४ गतेदेखि पुनः खुलाइएको थियो। वर्षायाममा बाढी आउने, खोला खोल्सा बढ्ने, रुख ढल्ने र बाटो चिप्लो हुने भएकाले यो कदम आवश्यक भएको हो।
निकुञ्जभित्र सफारी बन्द भए पनि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा भने जीप सफारी सञ्चालन जारी रहनेछ। निकुञ्जमा पैदलयात्रा, घडियाल प्रजनन केन्द्र अवलोकन लगायत अन्य पर्यटकीय गतिविधि भने नियमित रूपमा सञ्चालन हुँदैछन्।