© २०२३
गुल्मी, ०९ असार ।
गुल्मी दरबार गाउँपालिकाले कृषि र पशुपालनको क्षेत्रमा काम गर्ने दुई दर्जन भन्दा धेरै किसानहरूलाई सम्मान गरेको छ । उत्कृष्ट कृषकहरूलाई गाउँपालिका अध्यक्ष सरोज कुमार थापा, उपाध्यक्ष तारा थापा ढेगा तथा प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले सम्मान गरेका थिए । अध्यक्ष उत्कृष्ट सम्मानबाट वडा नं १ का व्यावसायिक तरकारी कृषक तुल बहादुर थापा र पशुपालक खिमलाल अर्याललाई सम्मान गरिएको छ । त्यसै गरी वडा नं. २ बाट दुर्गा बहादुर राना, वडा नं. ३ बाट भिम कुमारी भुसाल, वडा नं. ४ बाट माया रजाली र विकास रजालीलाई सम्मान गरिएको छ ।
त्यस्तै वडा नं. ५ बाट मेघ बहादुर ढेंगा, वडा नं. ६ बाट खुम बहादुर तङनामी, अनिता रास्कोटी, वडा नं. ७ बाट कुल बहादुर खड्कालाई सम्मान गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नवराज घिमिरेले जानकारी दिए । अध्यक्ष उत्कृष्ट कृषक सम्मानबाट १० जनालाई नगद १४ हजार रुपियाँसहित सम्मान गरिएको हो । त्यस्तै दुग्ध उत्पादनमा आधारित अनुदानबाट ३९ जना कृषकलाई सम्मान गरिएको छ । गुल्मी दरबार गाउँपालिका–३ का मेघ बहादुर घिमिरे सबैभन्दा बढी अनुदानसहित सम्मानित भए । उनले २२ वटा मुर्रा भैँसी पाल्नु भएको छ ।
उनले अहिले दैनिक ९० लिटर दुध बिक्री गर्नुभएको छ । घिमिरले ३२ हजार ८५० रुपियाँ नगद प्राप्त गरेको प्रशासकीय अधिकृत घिमिरेले बताए । त्यस्तै गुल्मीदरवार–५ की सिता कुवंरले २४ हजार र दामोदर गौतमले १४ हजार ४०० रुपियाँ अनुदानसहित सम्मान प्राप्त गरे । गाउँपालिकाले छ महिनामा दुध उत्पादनको आधारमा प्रतिलिटर एक रुपियाँ अनुदानको व्यवस्था गरेको थियो ।
उत्पादनमा आधारित अनुदानबाट तीन जना सम्मानित भएका छन् । गाउँपालिकाले भिण्डी, टमाटर र आलुमा प्रतिकिलो ३ र बोडीमा प्रतिकिलो ५ रुपियाँ अनुदान व्यवस्था गरेको थियो । जसमा आलुतर्फ गुल्मीदरवार गाउँपालिका–३ का मेघ बहादुर घिमिरे, टमाटरमा गुल्मीदरवार गाउँपालिका–४ का नविन कुमार रजाली र बोडी र भिण्डी तर्फ गुल्मीदरवार गाउँपालिका–४ का क्रृषिराम अर्याललाई नगदसहित सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले जानकारी दिए ।
उनले आगामी दिनमा अझैबढि ऊर्जाका साथ कृषि कर्ममा लाग्न सम्मानित कृषकहरूलाई आग्रह गरे । गाउँपालिका उपाध्यक्ष तारा थापाले कृषि र पशुपालनबाटै समृद्धि सम्भव भएकाले आफूहरू सधैँ कृषकको पक्षमा रहेको बताइन् । उत्कृष्ट कृषकहरूलाई सम्मान गर्दै गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले गाउँपालिकालाई मासु र दूधमा आत्मनिर्भर हुने बाटोतर्फ लैजान आग्रह गरे । उनले आशा गरे अनुसारका सबै काम गर्न नसके पनि कृषि र पशुपालनमा व्यावसायिक ऊर्जा बढ्दै गएको बताए ।