© २०२३
काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार सूचक ओरालो लागेपनि बजारमा कारोबार रकम भने उल्लेखनीय रूपमा बढेको छ। साताको पहिलो दिन नेप्से ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरेको छ, तर कुल कारोबार रकम ९ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।
कारोबारको सुरुवात २६२८.९१ अंकबाट भएको थियो। सूचक घटेको कारण आइतबार सेयर बजारका सबै समूहगत परिसूचकहरू ऋणात्मक रहे, जसको असर नेप्सेमा पनि प्रत्यक्ष देखिएको हो। बैंकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत्, माइक्रोफाइनान्स, होटल, उत्पादन, बीमा लगायत सबै सूचक ओरालो लागे।
तर, सूचक ओरालिँदा पनि कारोबार रकम बढ्नु सकारात्मक संकेतको रूपमा लिइएको छ। वित्तीय प्रणालीमा ब्याजदर घट्न थालेसँगै लगानीकर्ताहरू सेयर बजारमा आकर्षित भएका छन्। नेपाल राष्ट्र बैंकले सेयर कर्जा सम्बन्धी नीतिमा लचकता अपनाएपछि बजारमा लगानी भित्रन थालेको देखिएको हो।
आइतबार नेप्सेमा ३१० कम्पनीका २ करोड १५ लाख ४७ हजार कित्ता सेयर ८७ हजार ३ सय २ पटक कारोबार भए। कुल कारोबार रकम ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँ पुगेको हो। बजार पूँजीकरण पनि ४३ खर्ब २५ अर्बमा पुगेको नेप्सेले जनाएको छ।
उक्त दिन जोशी हाइड्रोपावरको सेयर मूल्य उच्च वृद्धि दरसहित ९.९८ प्रतिशतले बढेको छ भने २३ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ। तर, २२५ कम्पनीको मूल्य घटेको हो।
विपरीत दिशा देखिए पनि, सूचक घट्नु र कारोबार रकम बढ्नु सेयर बजारमा पुनः गति आउने संकेतका रूपमा लिइँदैछ। आगामी दिनमा ब्याजदर र मौद्रिक नीतिका प्रभावसँगै बजार कतातिर मोडिन्छ भन्ने कुराले निर्णायक असर पार्नेछ।