© २०२३
गुल्मी, ०८ असार ।
प्रेस सेन्टर नेपाल, जिल्ला शाखा गुल्मीले जिल्लाका सबै पालिकामा सुझाव पेस गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमा सञ्चारकर्मी एवं सञ्चार माध्यमका विभिन्न हितका माग राख्दै पालिकामा सुझाव पत्र पेस गरिएको हो । जिल्लाको रुरुक्षेत्र, धुर्कोट, छत्रकोट, रेसुङ्गा र गुल्मीदरबारमा भौतिक रूपमै उपस्थित भएर सुझाव पत्र प्रदान गरिएको थियो भने अन्य पालिकामा इमेलमार्फत सुझाव पत्र पेस गरिएको सङ्गठनका जिल्ला अध्यक्ष हुमाकान्त पोखरेलले जानकारी दिए ।
पालिकाले सञ्चार नीति ल्याउने र त्यसमा पालिका एवं जिल्लाका सञ्चार माध्यमको विवरण सङ्कलन, आर्थिक स्थिति, कर्मचारी सङ्ख्या, सञ्चार माध्यमको प्रभावकारिता लगायतका विषय अध्ययन गर्ने र त्यसको आधारमा कार्यविधि बनाई अनुदानका कार्यक्रम सञ्चालन गर्नुपर्ने सेन्टरको सुझाव रहेको छ । सुझावमा गुल्मी जिल्लालाई आधार बनाएर सञ्चालन भइरहेका अनलाइनलाई समेत समेट्न आग्रह गरिएको छ । जिल्लामा स्नातक र स्नातकोत्तर अध्ययन गर्ने पत्रकारहरूलाई छात्रबृत्तीको व्यवस्था गर्नुपर्ने, स्थानीय पत्रकारहरूको निःशुल्क स्वास्थ्य र दुर्घटना बिमा गरिदिनुपर्ने, सञ्चार माध्यमको हकमा चट्याङ, हावाहुरी तथा प्राकृतिक विपत्तिबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सञ्चार माध्यमको सम्पत्ति बिमा गर्न सेन्टरले सुझाव दिएको छ ।
त्यसै गरी सञ्चार माध्यमलाई उपकरण खरिदमा अनुदानको व्यवस्था, विज्ञापन तथा सूचनाको लागि पालिकाभित्र सञ्चालन भएका मिडियालाई पहिलो प्राथमिकता, पालिकाले प्रत्येक चौमासिक रूपमा पत्रकार सम्मेलनमार्फत कार्यसम्पादन विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ । सञ्चार क्षेत्रमा विनियोजन भएको बजेट अन्य क्षेत्रमा खर्च गर्न नहुने एवं पत्रकारहरूको क्षमता अभिवृद्धिको लागि क्षमता विकाससम्बन्धी तालिमहरू सञ्चालन गर्नुपर्ने लगायतका सुझाव प्रेस सेन्टर गुल्मीले दिएको छ ।