© २०२३
गुल्मी, ०८ असार ।
शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको काली गण्डकी कोरिडोर सडक अझै सुचारु हुन सकेको छैन । काली गण्डकी गाउँपालिका –१ अन्तरगत हर्मीचौर–अर्बेनी सडक खण्ड अन्तरगत गरगरेमा सडक माथिबाट सुख्खा पहिरो खसेपछि शुक्रबारदेखि उक्त सडक पुर्णरूपमा अवरुद्ध बनेको छ ।
अवरुद्ध सडक सुचारु गर्नका लागि पहिरो ग्रस्त क्षेत्रमा सनिबार दिनभर पनि तीन वटा डोजर तयारी अवस्थामा राखिएको थियो । सडक माथिबाट सनिबार दिनभर पनि पहिरो खस्ने क्रम जारी रहेको छ । पहिरो खस्ने क्रम नरोकिएसम्म सडक सञ्चालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर सारूले बताएका छन् ।
“सडकभन्दा धेरै माथिबाट लगातार सुख्खा पहिरो झरिरहेको छ, हामीले यात्रुहरूको सुरक्षाका लागि प्रहरी चौकी पुर्तिघाटबाट टोलीलाई पहिरो ग्रस्त क्षेत्रमा खटाएका छौ, कुनै मानवीय क्षति नहोस् भनेर यात्रुहरूलाई वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेका छौ,” प्रहरी नायव उपरीक्षक सारूले भने । उनले तत्कालै उक्त सडक सुचारु हुनसक्ने अवस्था नरहेको बताए ।
सडक सुचारु गर्नका लागि पहल भइरहेको काली गण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले बताएका छन् । “पहिरो झर्न रोकिनासाथ सडक पन्छाउनका लागि तीन वटा डोजर तयारी अवस्थामा राखेका छौ, हावा चल्दा पनि माथिबाट ढुङ्गा खसिरहेको छ, लामो समयसम्म मुख्य सडक बन्द हुँदा नागरिकहरू समस्या परेका छन्,” अध्यक्ष थापाले भने । सडक माथिबाट ठुलो चट्टान सहित खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रका नागरिकहरू कति बेला पहिरो रोकिएला र सडक सुचारु होला भन्ने आसमा बसिरहेका छन् ।
त्यसै गरी वर्षाका कारण पहिरो गएपछि अवरुद्ध बनेको रिडी–वामीटक्सार सडक खण्ड भने एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको छ । उक्त सडक खण्ड अन्तरगत चन्द्रकोट गाउँपालिका –७ स्थित सिस्ने भीरमा सडक माथिबाट खसेको पहिरोको केही भाग हटाएपछि सडक आंशिक रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ । एकतर्फी रूपमा सडक सञ्चालनमा आएपछि त्यस क्षेत्रमा यातायात सेवा सुचारु बनेको छ ।