© २०२३
बुटवल, ९ मंसिर ।
नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेललाई नजिकबाट चिन्नेहरू भन्छन्, ‘काम गर्ने नेता ।’ ‘काम गर्ने नेता’को रुपमा उनको परिचय आफ्नो पार्टीका नेता तथा कार्यकर्तामा मात्रै होइन, उनको जिल्ला र जिल्लाबासीमा पनि उस्तै छ ।
वि.सं. २०१६ साल मंसिर ५ गते स्याङ्जाको पुतलीबजारमा पिता देविलाल र रेवती पौडेलका छोराका रुपमा विष्णु प्रसाद पौडेलको जन्म भएको हो ।
पौडेल स्कूल पढ्दा पढ्दै भूमिगत राजनीतिमा होमिए । २०३३ सालदेखि राजनीतिमा सक्रिय पौडेलले २०३७ सालमा ३ वर्ष राजकाजको मुद्दा खेपेका थिए । सो समयमा ३ हजार रुपैयाँ जरिवाना सहित भैरहवा जेल चलान भएपछि ४५ दिनको परिश्रमपछि उनले जेल विद्रोह गरेका थिए ।
वि.सं. २०४७ सालमै नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रवेश पाएका पौडेल सातौं महाधिवेशनपछि अशोक राईसँगै स्थायी कमिटी सदस्य बनेका थिए ।
एमाले उपाध्यक्ष विष्णु पौडेल संसदीय राजनीतिमा ०५१ सालबाट प्रवेश गरेका हुन् । उनी २०५१ सालमा पाल्पा क्षेत्र नम्बर ३ बाट सांसद जितेर प्रतिनिधि सभा सदस्य बनेका थिए । वि.सं. २०५६ मा रुपन्देही झरेका पौडेल क्षेत्र नम्बर ३ बाट ६०० मतले सो समयमा पराजित भए ।
पौडेल २०५४ सालमा युवा, खेलकुद तथा संस्कृती मन्त्री समेत बनेका थिए । उनी २०६५ मा प्रचण्ड सरकारमा जलस्रोत मन्त्री र झलनाथ खनालको पालामा रक्षामन्त्री समेत बनेर कार्य गरिसकेका व्यक्ति हुन् ।
वि.सं. २०६५ सालको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिव र २०७१ को नवौं महाधिवेशनबाट पौडेल उपमहासचिव निर्वाचित भए ।
नेतृत्वको विश्वासमा रहेर काम गर्ने र मिडिया जगतबाट टाढा रहने स्वभाव पौडेलको छ । वि.सं. २०७२ मा ओली प्रधामन्त्री भएको बेला अर्थमन्त्रीका रुपमा उनले आफूलाई सफल बनाएपछि पार्टी र बाहिर पनि उनको व्यक्तित्व थप माथि उठ्यो । २०७५ जेठमा एकीकृत भएका पूर्व एमाले र माओवादी केन्द्रको सचिवालय गठनसँगै महासचिवमा जिम्मेवारी पाएपछि नेकपामा विष्णु पौडेलको चर्चा चुलियो । सो बेला पूर्व एमालेका महासचिव ईश्वर पोखरेललाई पाखा लगाउँदै पौडेल महासचिवमा चयन भएका थिए ।
सर्वोच्च अदालतले केपी ओलीले गरेको सरकार हेरफेरलाई संविधान विपरित ठहर गर्दै खगराज अधिकारीलाई गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय उल्टाएपछि पौडेलले गृहमन्त्रीको काम पनि सम्हालेका थिए ।
पछि सर्वोच्चको आदेशपछि एकीकृत भएका पार्टी अलग अलग रहे र पौडेल फेरि एमालेमा उपमहासचिवकै भूमिकामा रहे । चितवनमा सम्पन्न १० औं महाधिवेशनबाट पौडेल पार्टीको उपाध्यक्षमा चयन भएका हुन् ।
उनले भूमिगत समयमा पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रुपन्देही आदि जिल्लामा पार्टीको काम गरे । पौडेलले लुम्बिनी र महाकाली अञ्चल कमिटीको पनि नेतृत्व सम्हालेका छन् ।
पौडेल पटक–पटक मन्त्री भए । विगत दुई पटक अर्थमन्त्री भए । त्यसबेला सुरु गरेका दर्जनौं आयोजनाका कारण उनलाई विकासको प्रतीक मानिएको छ । रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको काम सम्पन्न भएर सञ्चालनमा आएको छ ।
रुपन्देहीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अगुवाइ उनै विष्णुले गरेका हुन् । सुरुमा अवधारणा निर्माणदेखि, ज्ञापनपत्र बुझाउने हुँदै बजेट विनियोजनसम्मको कामको अगुवाइ उनलै गरेका हुन् । बुटवल रामनगरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण भएर सञ्चालनमा आएको छ । २३ सय अट्ने क्षमताको यो सभा हल देशकै पहिलो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हो । यो उनकै पहलकदमीमा सम्भव भएको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
अन्तर्राष्ट्रिय सम्मेलन केन्दसँगै अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र धमाधम बन्दै छ । ५० प्रतिशत काम सम्पन्न भएको यो केन्द्रमा ८ सय बढी स्टल अट्ने क्षमता रहेको छ । १० हजार मानिसले एकसाथ अवलोकन गर्ने सक्नेछन् । बुटवल–बेलहिया ६ लेन सडक निर्माण भएको छ । भुमही–परासी–भैरहवा–लुम्बिनी–तिलौराकोट सडक, तिनाउ र दानव नदीमा दर्जन बढी डबल लेनका मोटरेबल पुल बनेका छन् । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनेको छ ।
बहुप्राविधिक शिक्षालय (केएनआईपी) को स्थापना, शंकरनगर बनवाटिकामा बहुउद्देश्यीय भवन, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला तथा शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायत क्षेत्रमा अनेकौं पूर्वाधार निर्माण भएका छन् । सैनामैना चक्रपथ र बेलबास–बेथरी सडकको अधिकांश काम सम्पन्न भएको छ ।
दर्जनौं आयोजना धमाधम सञ्चालन भइरहेका छन् । राजमार्ग चौराहा–गोलपार्क सडक, कालिकापथ, बुटवल–नारायणघाट ६ लेन सडक, तटबन्धसहितको तिनाउ–दानव करिडोर सडक, लुम्बिनी गुरुयोजना, कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजना, सिद्धबाबा सुरुङमार्ग र सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डको स्तरोन्नति, तिनाउ नदीमा सिग्नेचर पुल, बुटवल–गोरुसिंगे–चन्द्रौटा ६ लेन सडकलगायतका दर्जनौं आयोजनाको श्रेय पौडेललाई नै जान्छ ।
तिनाउमा सिग्नेचर पुल
मुलुकको प्रमुख आर्थिक केन्द्रका रूपमा स्थापित बुटवलको तिनाउ नदीमा बन्ने आकर्षक सिग्नेचर पुलको आर्किटेक डिजाइन तयार भएको छ । आधुनिक पुलको डिजाइन तयार पारेर त्यसलाई मूर्तरूप दिन नेपाली र विदेशी इन्जिनियरले अहिले धमाधम काम गरिरहेका छन् । विश्व बैंकको ऋण सहयोगमा बुटवलसहित मुलुकका विभिन्न १० स्थानमा आकर्षक सिग्नेचर पुल डिजाइनका लागि अर्थमन्त्री भएका बेला पौडेलले बजेट विनियोजन गरेका थिए ।
तर देउवा नेतृत्वको गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्माले ८ वटा पुलका लागि विनियोजित पैसा काटेर एउटा पुलका लागि मात्र रकम विनियोजन गरेका थिए । तर अर्थ मन्त्रालयका सचिवहरूले पूर्वअर्थमन्त्री पौडेलकै परिकल्पनाअनुसार सिग्नेचर ब्रिजको बजेट व्यवस्था गरिएकाले बुटवलको पुल नकाट्न आग्रह गरेपछि यसले निरन्तरता पाएको छ । यो पनि पौडेलकै सपनासँग जोडिएको परियोजना मानिन्छ ।
चार देश जोड्ने सडक सञ्जाल
नेपाल, बंगलादेश, भुटान र भारत जोड्ने गरी रोड कनेक्टिभ परियोजनाको काम पनि सुरु हुँदै छ । बुटवल–नारायणघाट एक्सप्रेस–वेका रूपमा काम सुरु भएको छ भने बुटवल–गोरुसिंगे–चन्द्रौटा खण्डको विस्तारका लागि ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ ।
पूर्व–पश्चिम राजमार्गलाई विस्तार गर्दै सार्कस्तरीय सडक सञ्जालमा जोड्ने सोचसहित रोड कनेक्टिभिटीको काम भइरहेको छ । यसले नेपालसहित भारत, बंगलादेश र भुटानका बीचमा सडक सञ्जाल जोड्नेछ ।
पौडलेले अर्थमन्त्री भएका बेला सडक, पुल, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, खानेपानी, खेलकुदलगायतका दर्जनौं आयोजनाका लागि बजेट पठाए । यीमध्ये धेरैजसो सम्पन्न भएका छन् भने बाँकीको काम धमाधम भइरहेको छ । पौडेल यही तागतमा रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेवार बनेका छन् । २० कात्तिक २०७९ मा उनले आफ्नो घोषणापत्र जारी गर्दै रुपन्देही विकासको मार्गचित्र पनि प्रस्तुत गरेका छन् ।
उनले भनेका छन्, ‘यो जिल्ला शान्त, सुरक्षित र विकसित हुँदै छ र सबैका लागि आकर्षणको थलो बन्दै छ । व्यक्तित्व निर्माण, पूर्वाधार निर्माण, पुँजी निर्माण र राष्ट्र निर्माणमा योगदान दिन चाहनेका लागि आकर्षक गन्तव्य बन्दै गइरहेको छ । रूपन्देही जिल्लालाई भौतिक एवं मानवीय विकासका दृष्टिले उदाहरणीय र अग्रणी बनाउन चाहेका छौं । विकासको नमुना अर्थात् रोल मोडल बनाउन चाहेका छौं ।’