© २०२३
भैरहवा, ६ असार
नेपालका लागि भारतीय राजदूतावासको आयोजनामा लुम्बिनीमा एक दिवसीय योग कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय योग दिवसको पूर्व सन्ध्यामा दूतावासको आयोजनामा शुक्रबार योगाभ्यास भएको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्ण बहादुर घर्ती मगरले नेपाल विश्वमा बुद्ध जन्मस्थल लुम्बिनी, सगरमाथा र बहुल जातजाती तथा विविधताका कारण चिनिएको बताए । उनले भारतीय दूतावासले नेपालमा बिभिन्न तरिकाले सहयोग गर्दै आएकोमा स्वास्थ्यको लागि योग जनचेतनामूलक कार्यक्रमले नेपालीको स्वाथ्य अझै सुदृढ बनाउने बताए ।
यस्तै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मानिसहरु योगले गर्दा पहिले भन्दा स्वस्थ्य भईरहेको बताए । उनले भारतीय दूतावासले योगाभ्यासको लागि लुम्बिनीको चयन गरेकोमा प्रशंसा गरे । बुद्धले शान्ति, करुणा र समझदारीको मार्गमा अग्रसर गराउनुका साथै मानव जिवनमा योग र ध्यानको महत्वबारे प्रकाश पार्नुभएको उनले बताए ।
चौधरीले पूर्वीय सभ्यतासँग जोडिएको योग आज विश्वभर एक सशक्त स्वास्थ्य र कल्याणको मार्गको रूपमा प्रख्यात हुँदै गएको औल्याए । “यो केवल शारीरिक अभ्यास मात्र नभएर मानसिक शान्ति, आत्म– अन्वेषण र समग्र स्वास्थ्यको एक महत्वपूर्ण प्रणाली हो”, मन्त्री चौधरीले भने, “योगले हामीलाई आत्म– ज्ञान हासिल गर्न, मानसिक सन्तुलन कायम गर्न तथा एकता र करुणाको भावना जागृत गर्न सहयोग पुर्याउँछ ।”
सोही कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा प्रत्येक वर्ष लुम्बिनीमा योग दिवस मनाउँदै आएको जानकारी दिए । उनले यस पटक समेत गरि लुम्बिनीमा यो चौथो पटक दिवस मनाईएको र यसलाई दूतावासले प्रत्येक वर्ष मनाउने बताए ।
सन २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्र संघले अनुमोदन गरे यता यसलाई मनाउदै आएको उनले बताए । “यो पटक यो दिवस यस अर्थमा पनि बिशेष यसकारण छ किनकी हामीले यसका दशौं वर्ष पुरा गरेका छौं”–राजदूत श्रीवास्तवले भने– “यो योग दिवस मनाउने कारणले योगलाई एक अन्र्तराष्ट्रिय स्तरको मञ्च पाईएको छ ।”
नेपाल र भारतमा योग प्राचीनकालदेखि नै गरिदै आएको बताउँदै उनले यो दुवै देशको साझा संस्कृतिको अंग रहेको जिकिर गरे । गौतमबुद्धको जन्मस्थल लुम्बिनी एक महत्वपूर्ण तीर्थस्थल रहेको र भारतमा रहेका बिभिन्न बौद्धसँग सम्बन्धित स्थलहरुसँग जोडेर यसलाई तीर्थस्थल सर्किटको रुपमा विकसित गर्न आवश्यक रहेको औंल्याए । यसैको प्रयास स्वरुप लुम्बिनी विकास कोषसंगको सहकार्यमा विभिन्न पर्यटकीय गतिविधिमा दूतावासले साझेदारी गरेको उनको भनाई थियो । भारतको प्रयास स्वरुप नै अहिले लुम्बिनीमा भारतीय पर्यटकको आगमन गत वर्षहरु भन्दा बढ्दै गएको उनको भनाई थियो ।
लुम्बिनीको लिटिल बुद्धको प्रतिमा अगाडि आयोजित योगाभ्यास कार्यक्रममा प्रदेश प्रमुख, कृष्ण बहादुर घर्ती मगर, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राजदूत नवीन श्रीवास्तव सहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान, लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारी लगायत ५ सय बढी योग साधकहरुको सहभागिता रहेको थियो ।