© २०२३
गुल्मी, ०६ असार ।
गुल्मीमा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ का लागि सङ्कलन गरिएको घटनाहरूको अर्ध–वार्षिक समीक्षा सम्पन्न गरिएको छ । सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालले अर्धवार्षिक रूपमा सङ्कलन गरिएका घटनाहरूको बारेमा जानकारी गराएका थिए । समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि अर्यालले जिल्लामा बलात्कार र यौन दुर्व्यवहार, कुटपिट तथा झैझगडा, मानसिक यातना, गालीगलौज, खान लगाउन नदिएको, बहुविवाह लगायतका गरी ४३ वटा घरेलु हिंसाका घटना घटेको विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले इन्सेकले पटक पटक मानव अधिकारका विषय उठाएर सरोकारवालालाई नैतिक दबाब दिइरहेको बताए । उनले बालबालिका संरक्षण, कारागार व्यवस्थापन र बजार लगायतका क्षेत्रमा अनुगमन प्रभावकारी बनाउन नसकिएको भन्दै इन्सेकको खबरदारीले जिल्लामा महत्त्वपूर्ण सहयोग पुगेको बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले सडक बालबालिका व्यवस्थापन निकै ठुलो समस्या चुनौतीको विषय बनिरहेको बताए । नेपाल बार एसोसिएसन गुल्मीका अध्यक्ष गोपाल खनालले प्रहरीमा आउने पीडित, गरिब तथा विपन्न नागरिकले निःशुल्क रूपमा पाउनुपर्ने कानुनी सहायता नपाएको प्रति प्रहरी प्रमुखको ध्यानाकर्षण गराएका थिए ।
समीक्षा कार्यक्रममा नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेले वर्तमान अवस्थामा मानव अधिकारका घटनाहरू सुनाउने ठाउँ हराउँदै गएको बताए । उनले जिल्लास्थित राजनैतिक दलहरूमा सामाजिक चासो हराउँदै गएको बताएका थिए । उनले प्रचारमुखी दलहरू र मानव अधिकारको कार्य योजना विहीन स्थानीय तहका कारण आम नागरिकले मानव अधिकारको प्रत्याभूति गर्न नसकेको बताए । पाण्डेले सदरमुकामका विद्यालय र अस्पतालमा भएको बेथितिको बारेमा सरोकारवाला पक्षहरूले खबरदारी गर्नुपर्नेमा जोड दिएका थिए ।