रसुवा, ५ असार ।
रसुवा भन्सार नाका हुँदै छिमेकी मुलुक चीनबाट आयात भएका वस्तुको भन्सार शुल्कबापत प्राप्त राजस्व सार्वजनिक भएको छ । चालु आर्थिक वर्षको साउनदेखि गत जेठ मसान्तसम्म आयातित सामग्रीको शुल्कबाट रु. २८ अर्ब ७१ करोड राजस्व प्राप्त भई राज्य कोषमा दाखिला भइसकेको हो । प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले राजस्व वृद्धि भएको हो ।
गत आवको ११ महिनामा रु. १८ अर्ब ९८ करोड २१ लाख राजस्व सङ्कलन भएको थियो । चालु आवमा विद्युतीय सवारीसाधन र अन्य गरी करिब रु. ८० अर्ब बराबरको सामग्री आयात भएको जनाउँदै उनले रु. तीन अर्ब बराबरका सामग्री निर्यात भएका बताए । उनका अनुसार गत साउनदेखि जेठ मसान्तसम्म छ हजार २६६ थान जिप, कार, भ्यान, तीन पाङ्ग्रे चार सय ६९ वटा र माइक्रो बस तथा बस ट्रक एक हजार १७६ वटा विद्युतीय सवारीसाधन आयात भएका हुन् ।
सवारीसाधन आयातका लागि सङ्घीय सरकारको यातायात व्यवस्था विभाग र मोटर उत्पादक कम्पनीले प्रमाणित गरेको किलोवाटको आधारमा जाँच पास हुने गरेको बताउँदै प्रमुख भट्टराईले पारदर्शी ढङ्गबाट राजस्व असुली भइरहेको उल्लेख गरे । सवारीसाधनबाट मात्रै ११ अर्ब ४८ करोड राजस्व प्राप्त भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।