© २०२३
म्याग्दी, ०५ असार ।
सत्ताइस वर्षअघि ट्र्याक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्रे गर्न थालिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरबाट वडा नं. २ भकुण्डे हुँदै तमाने जोड्ने १० किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर सवबेस र बेस बिछ्याउने काम सकेर कालोपत्रे गर्न थालिएको हो ।
सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत सञ्चालित रत्नेचौर–भकुण्डे सडकको उपल्लाचौर–अर्जम–फापरखेत खण्डमा पहिलो चरणमा चार किमी कालोपत्रे गर्न थालिएको कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिए । एक किलोमिटर दुई सय मिटर ढलान भइसकेको छ ।
नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्रे गरिने कार्यालय प्रमुख सुवेदीले बताए । वि.सं. २०५६ मा ट्र्याक खोलिएको यो सडक बेनी नगरपालिका–१, २, ४ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्छन् ।
उक्त योजना निर्माण गर्न २०७९ साल भदौ ६ गते निर्माण कम्पनीले २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । ।सडक डिभिजनका अनुसार हाल ७५ प्रतिशत भौतिक प्रगति भएको योजनाको वित्तीय प्रगति ५९ प्रतिशत छ । यसअघि एक घण्टाको यात्रा अवधि हाल २० मिनेटमा छोटिएको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताए ।
चालु आर्थिक वर्षमा विनियोजन भएको चार करोड बजेट खर्च भइसकेको योजनाका लागि आगामी वर्ष रु. तीन करोड विनियोजन भएको छ । सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न आव २०७७÷७८ मा रु ४०–४० करोड विनियोजन गरेको थियो । रासस