© 2026
काठमाडौँ।
इजरायल र इरानबीच जारी युद्धको विरोधमा मानवअधिकार तथा शान्ति समाजले काठमाडौँमा शान्तिपूर्ण प्रदर्शन गरेको छ। समाजले बुधबार इजरायल दूतावास र इरानी वाणिज्य दूतावासअगाडि शान्तिको कामना गर्दै आह्वानात्मक प्रदर्शन आयोजना गरेको हो।
समाजले हालै सुरु गरेको ‘युद्धविरुद्धको अभियान’ अन्तर्गत यो प्रदर्शन गरिएको हो। समाजकी सभापति रेनुका पौडेलका अनुसार दुवै दूतावासअगाडि करिब–करिब आधा घण्टासम्म प्रदर्शन गरिएको थियो। उनले इजरायल–इरानबीचको युद्ध तत्काल अन्त्य हुनुपर्ने र मानवअधिकारको सार्वभौमिकता सबै मुलुकले स्वीकार गर्नुपर्ने धारणा राखिन्।
उनको भनाइमा, समाज संसारका कुनै पनि भू–भागमा भइरहेको युद्धप्रति मौन बस्न सक्दैन। युद्धले मानवीय पीडा, हिंसा र विनाश मात्र दिन्छ भन्दै उनले सबै पक्षलाई वार्तामार्फत समाधान खोज्न आग्रह गरिन्।
समाजका संस्थापक सभापति कृष्ण पहाडीले इरानमा लोकतन्त्रको अभाव र मानवअधिकार उल्लंघनका कारण त्यो देश एक्लिँदै गएको टिप्पणी गरे। त्यस्तै, इजरायलले नै युद्धको सुरुआत गरेको हुँदा शान्तिको पहल पनि उसैले गर्नुपर्नेमा उनले जोड दिए।
उनीहरूको भनाइमा, युद्ध कुनै समाधान होइन, बरु समस्या झन जटिल बनाउने माध्यम हो, र त्यसकारण तत्काल युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायको दबाब आवश्यक छ।