© २०२३
बुटवल, ३ असार । बुटवलमा जारी उजिरसिह रनिङसिल्ड टि ट्वान्टी क्रिकेट प्रतियोगिता २०८२ मा लगातार दुई खेलमा जित निकाल्दै बेष्ट्रन क्रिकेट क्लब फाईनलमा प्रवेश गरेको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा बुटवल क्रिकेट विकास समितिको आयोजनामा मंगलबार बेष्ट्रनले बुटवल ईलाभेन क्रिकेट क्लबलाई ६८ रनले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।
नरेनापुर क्रिकेट खेलमैदानमा टस जितेर बेष्ट्रनले ब्याटिङ रोज्दै २० ओभरमा ९ बिकेटको नोक्सानीमा १०६ रन बनायो । उसका लागि दिपेश रोकाले ३०, अजय कुमार चौहानले २६ तथा अर्पन तिमिल्सिनाले १९ रनको योगदान दिए ।
बुटवल ईलाभेनका युवराज सेनले ३ तथा बिपिन भट्टराई र सुधन श्रेष्ठले समान २–२ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको बुटवल ईलाभेनका १३.३ ओभरमा केवल ३८ रनमा समेटियो । बुटवल ईलाभेनका कुनै पनि ब्याट्सम्यानले दोहोरो रनको स्कोर बनाउन सकेनन । कम स्कोरमा रोक्न बेष्ट्रनका अभिषेक गौतमले ४ तथा अजय कुमार चौहानले ३ बिकेट लिए । खेलमा बेष्ट्रनका अजय कुमार चौहान प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । वर्षाका कारण रोकिएका खेल मंगलबार हुने खेल संयोजक राजु रानाले बताए ।
प्रतियोगिताको उपाधि विजेताले नगद ३५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संघका सहसचिव आयुष बोगटीले बताए । यसैगरि प्रतियोगितामा म्यान अफ दी सिरिज ३५००, कप, मेडल, प्रमाणपत्र, उत्कृष्ट बलर, ब्याट्सम्यानलाई नगद २५०० रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
असार ७ गतेसम्म चल्ने प्रतियोगितामा न्यु होराईजन क्लब, वेष्ट्रन क्रिकेट क्लब, गोलपार्क क्रिकेट क्लब, बुटवल ईलाभेन क्रिकेट क्लब, जेआर क्रिकेट क्लब, बुटवल युथ गरि ६ टिम सहभागी रहेको छ । गतवर्ष बेष्ट्रन क्रिकेट एकेडेमी विजेता र न्यु होराईजन क्लब उपविजेता रहेको थियो ।