© २०२३
आज विश्व खडेरी विरुद्ध सङ्घर्ष दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस नेपालमा पनि मनाइदैँ छ । बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समुदायमै जनचेतना बढाउन र ऐक्यबद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष विश्व खडेरी विरुद्धको दिवस मनाईदै आएको छ । बढ्दो वातावरण विनाश, औद्योगीकरण तथा कार्बन उत्सर्जनको बढ्दो चुनौतीका कारण विश्वमा मनसुनी असन्तुलन बढेको छ । जसका कारण कतै लगातार र भीषण वर्षा हुने गरेको छ भने कतै महिना दिनसम्म पनि पानी नपर्दा खडेरीको अवस्था सिर्जना हुँदै गएको छ । खडेरीको यही समस्याका कारण आज विश्वभरिका ९० करोड मानिस कुनै न कुनै खाद्य सङ्कटको सामना गर्न बाध्य भइरहेका छन् । खडेरी या मरुभूमि करण भौगोलिक परिस्थिति अनुसार पनि हुने गरेको छ ।
जस्तो नेपालकै पोखरामा सबैभन्दा धेरै पानी पर्दछ । विश्वमै धेरै पानी पर्ने स्थान भारतको चेरापुञ्जी हो । तर, पछिल्लो समय ती स्थानमा समेत मनसुनको समयमा वर्षामा असन्तुलन हुनु चुनौतीको विषय हो । कतै वर्षामा बाढीको कहर त कतै पानी नपर्दा आकुलब्याकुल हुने अवस्था सिर्जना हुनु चुनौतीको कुरा हो । मानव जनसङ्ख्याको वृद्धिसँगै पछिल्लो शताब्दीमा भूमिको असमान वितरण, खण्डीकरण, मरभूमिकरण लगायतका कारण विश्वका अधिकांश देश खडेरीको चपेटामा पर्दै आएका छन् । नेपालमा पनि उत्तरी क्षेत्रको तुलनामा दक्षिण क्षेत्रमा थोरै मात्र पानी पर्ने गरेको छ । दक्षिण क्षेत्रमा मरुभूमीकरणको समस्या बढिरहेको छ ।
पहाडतिर रोपाई सकिँदा तराईमा पानी समेत नपर्ने अवस्था छ । प्राकृतिक असन्तुलनको समस्याका कारण चुनौती उत्पन्न भइरहेको छ । अव वातावरण संरक्षणको क्षेत्रमा लागेका अभियन्ताहरूले खडेरी विरुद्ध विश्वलाई एकजुट हुन र सङ्घर्षका लागि आह्वान गर्नुपर्दछ । खडेरीको समस्या आउनुको मुख्य कारणको खोजी गरी त्यसको नियन्त्रणका लागि पाइला चाल्नु नै आजको आवश्यकता हो । वास्तवमा यो दिवसले केवल खडेरीकोमात्रै वकालत गर्दैन खडेरीका कारण उत्पन्न खाद्य समस्या लगायत दीर्घकालीन असरको न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासको विषयमा समेत आवाज उठाउने गरेको छ । पछिल्लो समय जमिनको खण्डीकरण ठुलो चुनौतीको रूपमा देखा परेको छ ।
जसको असर प्राकृतिक सम्पदामाथि पर्न थालेको छ । बढ्दो जनसङ्ख्या र कङ्क्रिटको सहर चुनौतीका रूपमा देखा परेका छन् । खडेरीको समस्याबाट जुझ्न विश्वले खाद्य सुरक्षादेखि वातावरणीय मुद्दाहरू, भू–संरक्षणको क्षेत्रमा गर्नुपर्ने काम लगायत विभिन्न मुद्दामा अव बहस पैरवी गर्नु जरुरी छ । खडेरी या मरुभूमि करणको समस्या २१ औँ शताब्दीमा प्रकृतिले भोग्दै आएको ठुलो समस्या हो भन्ने कुरा विश्वका ठुला औद्योगिक राष्ट्रहरूले बुझेको कुरा हो तर पनि बढ्दो कार्बन उत्सर्जन घटाउने तथा नियन्त्रण गर्ने विषयमा ध्यान दिएका छैनन् ।
जसका कारण समस्या झनै विकराल बन्दै गएको छ । पछिल्लो समय बेमौसमी वर्षा, अतिवृष्टि र खडेरीको समस्या बढिरहेकोले बाढी र पहिरोको प्रकोप समेत बढिरहेको हुँदा यी चुनौती सामना गर्नेतर्फ पहल आवश्यक छ । वास्तवमा खडेरीकै कारण तापक्रममा समेत वृद्धि हुँदै गएको छ । विश्वमा तापमान बढिरहेकोले चुनौतीको अवस्था सिर्जना भैसेकको छ । तसर्थ अबको दिनमा खडेरीको समस्या कसरी अन्त्य गर्ने भन्ने विषयमा सोच्नु जरुरी भैसकेको छ । वन जङ्गलको विनाश नियन्त्रण गर्ने, औद्योगीकरणबाट उत्सर्जित कार्बनको मात्रा घटाउने, तापमान वृद्धि नियन्त्रणका लागि अपनाउनुपर्ने उपायको खोजी गरेर खडेरी रोकथाम र नियन्त्रण गर्न सकिन्छ । तसर्थ नेपालका साथै विश्वको ध्यान अव त्यस दिशातर्फ जानु जरुरी छ ।