Butwal Today

सेयर बजार ०.४७ अंकले वृद्धि हुँदै २६५५ अंकमा

१ असार २०८२, आइतबार
अ+
अ-

काठमाडौं ।

आइतबार सेयर बजारमा नेप्से परिसूचक ०.४७ अंकले वृद्धि हुँदै २६५५ अंकमा पुगेको छ। यद्यपि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेर ११ अर्ब ४४ करोड रुपैयाँमा सीमित भए पनि लगानीकर्ताबीच उत्साह देखिएको छ। अघिल्लो दिन कारोबार रकम १२ अर्ब ५१ करोड थियो।

आज ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको मूल्य घटेको छ। हाइड्रोपावर क्षेत्रले लगानीकर्ताको आकर्षण कायमै राखेको छ। गत साता यो सेक्टरमा ५.५३ प्रतिशतको वृद्धि भएको थियो भने आइतबार ०.९६ प्रतिशतले थप बढेको छ। यस क्षेत्रमा धेरै कम्पनीहरूको शेयर मूल्यमा उल्लेखनीय वृद्धी देखिएको छ।

उत्पादन समूह सबैभन्दा बढी १.४७ प्रतिशतले बढेको छ भने व्यापार १.०८, निर्जीवन बीमा ०.०७ र विकास बैंक ०.४८ प्रतिशतले वृद्धि भएका छन्।

बैंकिङ क्षेत्रको परिसूचक ०.४४, फाइनान्स ०.५९, लगानी ०.७६, जीवन बीमा ०.५४, माइक्रोफाइनान्स ०.३१, होटल तथा पर्यटन ०.०६ र अन्य समूह ०.४६ प्रतिशतले घटेको छ।

आज तीन कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीहरू हुन् — पियोर इनर्जी, ग्रिन डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावर। त्यस्तै बरुण हाइड्रोपावरको मूल्य ९.८४ र युनियन हाइड्रोपावरको ९.३४ प्रतिशतले बढेको छ।

धेरै कारोबार भएका कम्पनीहरूमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, बुटवल पावर, राधि विद्युत् र माउन्टेन इनर्जी अग्रस्थानमा रहेका छन्।