© २०२३
सल्यान, ३० जेठ ।
सल्यानमा बाढी, पहिरो र डुबानजस्ता सम्भावित प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि जिल्लास्तरीय समन्वय बैठक सम्पन्न भएको छ । मनसुन सुरु भएसँगै हुनसक्ने प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि जिल्ला स्तरका सरोकारवालाहरूको बैठकले विभिन्न निर्णय गरेको हो । जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा बिहीबार खलंगामा सम्पन्न बैठकले बाढी र पहिरोको पूर्व तयारी तथा आपत्कालीन प्रतिकार्य योजनाबारे महत्त्वपूर्ण निर्णयहरू गरेको । बैठकमा सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाका प्रतिनिधिहरू, सुरक्षा निकाय, सञ्चारकर्मी, पत्रकार महासङ्घ र रेडक्रसका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको अध्यक्षतामा बसेको बैठकले सम्भावित जोखिम क्षेत्रको पहिचान गरी बस्ती स्थानान्तरण गर्न, खोज तथा उद्धार टोली तयारी अवस्थामा राख्न र सञ्चार संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेको छ । स्थानीय तहहरूलाई जोखिमयुक्त क्षेत्र पहिचान गरी सचेतना अभिवृद्धि गर्न, पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन र जनतालाई समयमै जानकारी दिन आग्रह गरिएको छ ।
बैठकमा सहभागीहरूले विपद्को बेलामा चाहिने सबै सामग्री समयमै तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिएका थिए । यस वर्ष मनसुन छिटो सुरु भएको र वर्षा पनि धेरै हुने पूर्वानुमान भएकाले सबै निकायलाई अझ सतर्क र उत्तरदायी बन्नुपर्ने सुझाव दिइएको छ । बैठकले सञ्चार माध्यमहरूलाई जनचेतनामूलक सन्देश प्रसारण गर्न र समुदायमा सूचनाको प्रवाह सशक्त बनाउन समेत अनुरोध गरेको छ ।