© २०२३
नवलपरासी, २९ जेठ ।
जिल्लाको पाल्हीनन्दन गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालयहरूमा गाउँपालिका पहिचान कार्यक्रम सञ्चालन गरेको छ । बालबालिकालाई गाउँपालिकाको सेवा सुविधा लिन सुरुदेखि नै जानकारी हुने र आ–आफ्ना अभिभावकहरूलाई पनि सेवा लिन सहज बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अंसारी (सकिना) ले शुभारम्भ गरेकी थिइन् ।
गत वर्ष विद्यालयसँग उपाध्यक्ष कार्यक्रम गरी उपाध्यक्षका काम कर्तव्य र अधिकारबारे जानकारी गराउँदै आएकी उपाध्यक्ष सकिनाले गरेकी थिइन् । यस पटक विद्यालयमा गाउँपालिकाका सबै गर्ने काम, दिइने सेवा र सेवाग्राहीले सेवा लिनका लागि अपनाउने प्रक्रिया लगायतका विषय बस्तुहरूलाई समेटेर गाउँपालिका पहिचान कार्यक्रमको शुभारम्भ गरेकी बताइन् । यसले बालबालिकामा उत्साह थपिएको छ, उनले भनिन्, आजका बालबालिका भोलिका कर्णधार हुन्,आम नागरिक सरह नै उनीहरूलाई पनि गाउँपालिकाबारे जान्न आवश्यक छ । यसले गर्दा यो कार्यक्रम विद्यालय लक्षित बनाइएको उनले सुनाइन् ।
आफू क्याम्पसमा अध्ययनरत रहँदै यो राजनीति कार्यमा लागेको हुँ, उनले थपिन्, बालबालिकाबाटै पनि आफ्नो गाउँ टोलको विकास प्रक्रियामा जान्न, सुन्न र संलग्न हुन सक्ने आधार तयार गर्नका लागि पनि यो कार्यक्रमले प्रभावकारिता थप्ने बताएकी थिइन् । उनका अनुसार उक्त कार्यक्रमको सहजीकरण कोलिय मिडिया एन्ड आइटी सोलुसन प्रालिले गर्दै आएको छ । कार्यक्रममा मुलुकमा चल्दै गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपादेयताबारे जानकारी गराउँदै त्यही सङ्घीय संरचना भित्रकै एक पाल्हीनन्दन गाउँपालिका पनि भएको बताइन् । गाउँपालिका एक आफैमा सरकार हो । सरकारमा हुने हरेक विधि प्रक्रिया अनुसार नै गाउँपालिका सरकारले पनि गर्ने गर्छ ।
गाउँपालिकामा पनि कानुन बनाउने अधिकार छ । संविधान,सङ्घीय र प्रदेश कानुनको अधीनमा रहेर ती कानुनसँग नबाझिने गरी गाउँभाले कानुन बनाउँछ । त्यो कानुनलाई कार्यपालिकाले कार्यान्वयन गर्छ । जनताका स साना समस्या समाधानका लागि उपाध्यक्षकै नेतृत्वमा गाउँपालिका भित्र न्यायिक समिति रहेको छ । गाउसभा पनि गाउ सँसद हो । जहाँ विधेयकहरू पेस हुन्छ, छलफल हुन्छ,पास भए पछि कानुन बन्छ । त्यो कानुनलाई अध्यक्ष,उपाध्यक्ष,वार्ड अध्यक्ष सहित कार्यपालिका सदस्यहरूले कार्यान्वयनमा ल्याउने हुदा त्यो कार्यपालिका हो । त्यसै गरी न्यायिक समितिले न्याय सम्पादन गर्दै न्यायपालिकाको काम गर्ने गर्छ ।
कार्यपालिकाले जनताका सेवा प्रदान गर्नका लागि गाउँपालिका भित्र प्रशासन शाखा,राजश्व शाखा,योजना शाखा, पूर्वाधार शाखा, कृषि शाखा,पशु शाखा,स्वास्थ्य शाखा,शिक्षा शाखा, महिला तथा बालबालिका शाखा, लेखा शाखा, उद्यम विकास शाखा र सामाजिक विकास शाखा लगायतका शाखा मार्फत जनताका सेवा प्रवाह गर्दै आएको जानकारी गराइएको थियो । जुन विषयसँग सम्बन्धित सेवा हुन्छ, त्यो विषयगत शाखामा जानु पर्छ । विषयगत शाखाले आफूले गर्न सक्ने काम त्यहीबाट गरेर पठाउने र गर्न नसक्ने काम कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत मार्फत पेस गर्नु पर्छ ।
कार्यपालिकाले निर्णय गरेर कार्यान्वयन गर्ने, सिफारिस गर्ने गर्छ । कार्यपालिकाको निर्णय काम गर्न मात्र सम्भवन नभए गाउसभामा पास गर्नका लागि पठाइने गरिएको उपाध्यक्ष सकिनाले जानकारी गराएकी थिइन् । त्यसै गरी राज्यको सबै भन्दा सानो इकाईको रूपमा रहेको वार्ड कार्यालयहरू छन् । जनताका सेवाहरूबारे ती वार्ड कार्यालयले सिफारिस गर्ने गर्छन् । ४२ प्रकारका सिफारिस वार्ड कार्यालयले गर्ने गर्छ । त्यसै गरी स्थानीय स्तरबाट वास्तविक विषयवस्तुको प्रमाणीकरण गर्ने र घटना दर्ता पञ्जिकाको काम गर्ने काम पनि वार्ड कार्यालयहरूबाट हुने गरेको उनको भनाई थियो ।
केही अधिकार क्षेत्र तोकेर विकास पूर्वाधारका काम समेत वार्डबाटै हुने गरेको उनले बताएकी थिइन् । विद्यालयमा सरकारी कामकाजको प्रक्रियाबारे जानकारी गराउँदा धेरै नै प्रभावकारी भएको जनता मावि लोहरौलीका प्रधानाध्यापकले बताएका थिए । कार्यक्रमले बालबालिकालाई उत्साही र जिज्ञासु बनाएको कार्यक्रमका सहजकर्ता हुसेन अन्सारीले बताएका थिए । पाल्हीनन्दन गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत नवलपरासी जिल्लाको सदरमुकाम परासीबाट ७ कि.मि. दक्षिण तर्फ रहेको छ । ऐतिहासिक धार्मिक स्थल पाल्ही भगवती मन्दिर र साविक गेरमी र सनई गा.वि.स. मा ३६ बिघामा अवस्थित रहेको नन्दन तालको ऐतिहासिक गाथा बोकेको पाल्ही नन्दन गाउँपालिका साविक को रमपुरवा, हरपुर, कुश्मा, पाल्ही, गेरमी र सनई गा. वि. स. को साझा संगम हो ।
४४.६७ वर्ग कि. मि. क्षेत्रफल ओगटेको यो गाउँपालिका को कुल जनसङ्ख्या ३५ हजार ४ सय २९ रहेको छ । यस गाउँपालिकामा बसोबास गर्ने कूल जनसङ्ख्या मध्ये ९९ प्रतिशत अवधि र भोजपुरी भाषा बोल्दछन् भने करिब १ प्रतिशत जनसंखया थारु, उर्दु र नेपाली भाषा बोल्दछन् । पूर्वमा सरावल गाउँपालिका, पश्चिममा रुपन्देहीको रोहिणी गाउँपालिका, उत्तरमा रामग्राम नगरपालिका र दक्षिणमा भारत सँग ,सिमाना जोडिएको गाउँपालिकामा महेशपुर भन्सार यस गाउँपालिकाको अर्को चिनारी हो ।
गुप्ता, यादव, मुस्लिम र हरजिन जातिको मुख्य बसोबास रहेको यस गाउँपालिकाको मुख्य पेसा कृषि रहेको छ । सीमित मात्रामा विद्यालय भएकोले उच्च शिक्षा लिनको लागि जिल्ला सदरमुकाम तथा अन्य सहरहरू तथा राजधानीमा जानु पर्ने वाध्यात्मक अवस्था रहेको छ । पाल्ही भगवती मन्दिर, शिव मन्दिर लोहरौली, सोहगौरा मन्दिर पडरी, नन्दन ताल सनई र गेरमी, राधाकृष्ण मन्दिर रामजानकी मन्दिर सुगौली यस गाउँपालिका का मुख्य ऐतिहासिक पर्यटकीय स्थल हुन ।