© २०२३
गुल्मी, २८ जेठ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा प्रगति समीक्षा तथा रिपोर्टिङ कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय तहबाट सञ्चालित पकेट विकास कार्यक्रम अन्तरगत कार्यालय र पालिकाले गरेका कामहरूको बारेमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा स्थानीय तहका कृषि प्राविधिकहरूद्वारा आ–आफ्ना पालिकामा भए गरेका विभिन्न पकेट क्षेत्र—फलफूल, तरकारी, पशुपालन, कफी लगायतका कार्यक्रमहरूको हालसम्मको प्रगति विवरण प्रस्तुत गरिएको थियो । कृषि प्राविधिकहरूद्वारा स्थानीय तहहरूबाट सञ्चालित कार्यक्रम मार्फत उत्पादनमा वृद्धि, किसानको आय स्तरमा सुधार र युवा लक्षित कृषि उद्यम प्रवर्द्धन लगायतका विषयमा प्रस्तुतीकरण गरिएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ गुल्मीका प्रमुख रमेश जैसवालले पकेट कार्यक्रमले जिल्लामा व्यावसायिक कृषि विस्तारमा टेवा पुगेको बताए । उनले आगामी दिनमा कार्यक्रमलाई एकरूपता बनाउनका लागि स्थानीय तहहरूसँग समन्वय र सहकार्य गर्दै अघि बढ्नु पर्ने धारणा व्यक्त गरेका थिए । सोही कार्यक्रममा कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नरेश घितालले कार्यालय र स्थानीय तहका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको भन्दै आगामी दिनमा यसलाई अझै प्रभावकारी बनाउँदै अघि बढ्नु पर्ने बताएका थिए ।
कार्यक्रममा स्थानीय तहका कृषि प्राविधिकहरूले अलैँची, माहुरी, चक्लाबन्दी, सुन्तलाजातका फलफुल, आलु, कफी, तरकारी तथा रैथाने वाली लगायत पकेट विकास कार्यक्रमलाई थप प्रभावकारी, नतिजामुखी र किसानमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए ।