© २०२३
लमही, २८ जेठ ।
लमही नगरपालिका अन्तर्गत सञ्चालित नागरिक आरोग्य सेवा केन्द्र मार्फत आयुर्वेदिक उपचारप्रति नागरिकको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ । चालु आर्थिक वर्षको साढे १० महिनामै ५, हजार भन्दा बढी सेवाग्राहीले केन्द्रबाट स्वास्थ्य सेवा लिएका छन् । गत आर्थिक वर्षभरिमा सेवा लिनेको सङ्ख्या ३, हजारमा सीमित रहेको थियो । सेवा केन्द्रले अम्लपित्त, वाथ, युरिक एसिड, पायल्स, फिसर, फिस्टुला, मधुमेह, जन्डिस, रक्तचाप, दम, छालाका एलर्जी, नसासम्बन्धी तथा आन्द्रासम्बन्धी समस्याका लागि प्राकृतिक उपचार प्रदान गर्दै आएको छ ।
केन्द्र प्रमुख सरिता खनालका अनुसार सेवाको गुणस्तर, सहज पहुँच र निःशुल्क औषधी वितरणले नागरिकको विश्वास बढेको हो । उनले भनिन्, “सुलभ र गुणस्तरीय सेवा पाउँदा सेवाग्राहीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। महिला, ज्येष्ठ नागरिक र बालबालिकालाई लक्षित कार्यक्रम पनि प्रभावकारी बनेका छन् ।”
नगरपालिकाले सामुदायिक स्तरमै आयुर्वेदिक सेवा विस्तार गर्ने उद्देश्यसहित नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरेको हो । अहिले केन्द्रको भौतिक पूर्वाधार विस्तार तथा सेवा स्तरीयकरणको योजना अघि सारिएको छ । नगर प्रमुख जोगराज चौधरीले केन्द्रबाट उत्पादित आयुर्वेदिक औषधीको खुलेर प्रशंसा गर्दै स्थानीय वासीलाई प्रयोग गर्न आग्रह गरेका छन् । उनले भने, “मैले आफैँ निरन्तर यी औषधी प्रयोग गर्दै आएको छु । यसले मलाई धेरै फाइदा दिएको छ। दीर्घकालीन स्वास्थ्य लाभका लागि प्राकृतिक उपचार उत्तम विकल्प हो ।
”केन्द्रमा प्रयोग हुने औषधीहरू स्थानीय जडीबुटीबाट तयार पारिएका छन् । सेवाग्राहीहरूको अनुभव पनि सकारात्मक देखिएको छ । लमही नगरपालिका–५ का रामलखन चौधरी, जो वर्षौँदेखि पेट र जोर्नीको समस्याबाट पीडित थिए, अब आयुर्वेदिक औषधी प्रयोग गरेपछि आफूमा उल्लेखनीय सुधार आएको बताउँछन् । “महँगा औषधी र अस्पतालको झन्झटबाट थाकेपछि वैकल्पिक उपचार रोजेँ । नागरिक आरोग्य सेवा केन्द्रको औषधी प्रयोग गर्न थालेपछि स्वास्थ्यमा सुधार आएको छ,” उनले सुनाए ।
स्थानीयवासीले समयमै सहज रूपमा गुणस्तरीय सेवा पाएकोमा सन्तुष्टि व्यक्त गरेका छन् । यसले लमहीमा आयुर्वेदिक उपचार प्रणालीप्रति जनविश्वास झनै मजबुत बनाएको देखिन्छ।स्थानीय तहमा सुलभ, गुणस्तरीय र प्राकृतिक उपचारको पहुँचले लमहीमा आयुर्वेदप्रति जनविश्वास थप गहिरिएको छ । सेवा विस्तार तथा स्तरीकरणको योजनाले यो प्रवृत्ति अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।