© २०२३
सल्यान, २८ जेठ ।
जिल्लाकै त्रिवेणी गाउँपालिका पनि पछिल्ला वर्षहरूमा व्यावसायिक ताजा र बेमौसमी तरकारी खेतीको नमुना बनेको छ । गाउँपालिकाका कृषि विकास शाखा प्रमुख लक्ष्मी चन्द बबालका अनुसार किसानले उत्पादन गरेको तरकारीबाट राम्रो आम्दानी गर्न थालेपछि तरकारी खेतीमा किसानको आकर्षण बढेको हो । पालिकामा संचालमा आएका तरकारी हाटबजारले कृषकहरूलाई ताजा तरकारी तथा फलफूल बजारमा पु¥याउन सहज बनेको चन्द बताउँछिन् । उनका अनुसार पालिकाभित्र सल्लेखोला, टुनिबोट र फलावाङ गरेर तीन वटा तरकारी बजार छन् ।
उनले भनिन्, “हाम्रो पालिकामा किसानहरू समूह, सहकारीमा आबद्ध भएर खेती गरिरहेका छन् । गएको सिजनमा मात्रै तीन कृषक समूहले ४ लाख ३३ हजार किलोभन्दा बढी तरकारी उत्पादन गरी एक करोड ४२ लाखभन्दा बढी बिक्री भएको छ ।” त्रिवेणी गाउँपालिकाका अनुसार वडा नं., ५ सल्लेखोलाका ४२ कृषकले एक लाख ३३ हजार किलो तरकारी बिक्री गरेर ५३ लाख ३१ हजार, वडा नं. ६ टुनिबोटका २८ कृषकले दुई लाख ५० हजार किलो बिक्री गरी ७५ लाख र नयाँ सन्देश समूहका ३० कृषकले ५० हजार किलो बिक्रीबाट १४ लाखभन्दा बढी आम्दानी गरेको कृषि विकास शाखा प्रमुख बबालको भनाइ छ ।
सल्यानका किसानहरूले विशेष गरी गोलभेँडा, बन्दा गोभी, फूलगोभी, घ्यूसिमी, बोडी, खुर्सानी, आलु, काँक्रो, स्कूस, मूला, गाजर, हरियो साग, भान्टा, हरियो केराउ आदि बेमौसमी ताजा तरकारी उत्पादन गर्ने गर्दछन् । फलफूलहरूमा सुन्तला, आरु, नास्पति, आरु बखडा, अनार, आँप, केरा आदि र मसलादार तरकारीहरूमा अदुवा, हरियो धनिया, प्याज, लसुन, खुर्सानी, टिमुर आदि उत्पादन गर्ने गरेका छन् । हिजोआज यहाँका पाखा बारी, खेत, काल्ना तथा खोला किनार जताततै लोभलाग्दो तरकारी खेती देख्न सकिन्छ । नेपालगञ्ज, बुटवल, धनगडी, घोराही, तुलसिपुर लगायत विभिन्न ठाउँबाट व्यापारीहरू आएर तरकारी खरिद गरी लैजाने गरेको कृषि उपज बजार केन्द्र कपुरकोटले जनाएको छ ।
सल्यानमा व्यावसायिक रूपमा तरकारी खेती गर्नेहरूको सङ्ख्या बिस्तारै बढ्दै गएको देखिन्छ । युवा तथा महिलाहरू समेत मनग्य आम्दानी हुने भएपछि तरकारी खेतीतर्फ आकर्षित भएका छन् । स्थानीय सरकारदेखि विभिन्न सरकारी निकायले पनि तरकारी खेतीका लागि लगानी गरिरहेका छन् । गाउँपालिकाले उत्पादनको आधारमा कृषकलाई नगद तथा प्राविधिक अनुदान प्रदान गर्दै आएको भन्दै त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले उत्पादन राम्रो गर्ने कृषकलाई टनेल, सिँचाइ उपकरण, जैविक मल, बीउ र प्राविधिक सल्लाह प्रदान गर्ने गरिएको बताए । तरकारी खेतीबाट यस क्षेत्रका किसानको आयआर्जनमा महत्त्वपूर्ण योगदान पुगेको छ । यहाँको तरकारी खेतीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कपुरकोट र समग्र सल्यानलाई चिनाएको छ ।
यसैबीच बेमौसमी तरकारी खेतीका लागि प्रसिद्ध सल्यानको कपुरकोटमा यो वर्षको तरकारी बजार सुरु भएको छ । किसानले खेती गरेको तरकारी विक्रीका लागि तयार भइसकेकाले कृषि उपज बजार केन्द्रले बजार सञ्चालनमा ल्याएको हो । कपुरकोटमा हप्ताको मंगलबार र शुक्रबार तरकारी बजार लाग्ने गर्दछ भने गाउँपालिकाकै सितलबजार र बगालेमा पनि अन्य बारमा बजार लाग्ने गरेको छ । कृषि हाटबजारको पहिलो दिन टमाटर ६० देखि ६५, बन्दा गोभी ५ देखि १०, फुलगोभी ५५ देखि ६०, भेडे खुर्सानी १०० देखि १०५, मोटो खुर्सानी १०० रुपैयाँ प्रतिकिलोका दरले कारोबार भएको कृषि उपज बजार केन्द्र सञ्चालक समिति कपुरकोटका अध्यक्ष तिलक शर्माले जानकारी दिए । यस्तै सिमी ६५ देखि ७०, काँक्रो खिरा ३० देखि ३५, धनिया २००, बोडी ८० र माछे खुर्सानी ८० रुपैयाँ किलोका दरले किसानले बिक्री गरेका छन् ।
सल्यानमा पछिल्लो समय बेमौसमी ताजा तरकारी खेतीको लहर चलेको छ । विशेष गरेर जिल्लाको कपुरकोट गाउँपालिकामा किसानहरूले व्यापक रूपमा तरकारी खेती गर्दै आएका छन् भने त्रिवेणि, छत्रेश्वरी, शारदा, सिद्धकुमाख लगायतका क्षेत्रमा पनि व्यवसायीक रूपमा ताजा तरकारी खेती हुनेगरेको छ । वि.सं. २०४७ सालदेखि नै बेमौसमी ताजा तरकारी एवं फलफूल खेती हुँदै आएको कपुरकोट क्षेत्रमा हाल आएर करिब तीन हजार घरधुरीका किसानले व्यवसायीक रूपमा खेती गर्दै आएको कृषि उपज बजार केन्द्र कपुरकोटका अध्यक्ष शर्माले जनाए । देशकै ठुला तरकारी बजारहरू मध्ये पर्ने कपुरकोट तरकारी हाटबजारमा ताजा तरकारी र फल फुल खरिदका लागि विभिन्न सहर बजारबाट व्यापारीहरू आउने गर्दछन् । २०८१, असार देखि कार्तिकसम्म कपुरकोटमा मात्रै ५० करोड बढीको बेमौसमी ताजा तरकारीको कारोबार भएको छ ।