Butwal Today

वैशाख महिनामा महँगी घट्यो

२७ जेष्ठ २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, गत वर्षको तुलनामा यस वर्ष वैशाख महिनामा महँगी घटेको देखिएको छ। समीक्षा अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको वैशाखमा ४.४० प्रतिशत थियो।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत रहेको छ भने गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यी समूहहरूमा क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत मुद्रास्फीति देखिएको थियो।

महंगीको सन्दर्भमा ग्रामीण क्षेत्र सहरी क्षेत्रभन्दा बढी प्रभावित भएको राष्ट्र बैंकको निष्कर्ष छ। ग्रामीण क्षेत्रमा उपभोक्ता मूल्य सूचकाङ्क ३.२१ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रमा यो वृद्धि २.६१ प्रतिशतमा सीमित छ।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी मुद्रास्फीति कोशी प्रदेशमा ४.२९ प्रतिशत रहेको छ। त्यसपछि सुदूरपश्चिम प्रदेश (३.१४%) र मधेश प्रदेश (२.८१%) मा महँगी उच्च देखिएको छ। अन्य प्रदेशहरूमा बागमती (२.४०%), गण्डकी (२.२३%), कर्णाली (२.२१%) र लुम्बिनी (२.१५%) मा तुलनात्मक रूपमा कम मुद्रास्फीति देखिएको छ।

भौगोलिक क्षेत्रको हिसाबले हिमाली क्षेत्रमा सबैभन्दा बढी महँगी ४.०१ प्रतिशत रहेको छ, जबकि काठमाडौं उपत्यका, तराई र पहाडमा क्रमशः २.६४, २.६४ र २.६५ प्रतिशत मुद्रास्फीति देखिएको छ।

यो गिरावट उपभोक्ताका लागि राहतको संकेत भए पनि क्षेत्रगत असमानता भने अर्थतन्त्रका लागि चुनौतीका रूपमा देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?