© २०२३
भैरहवा, २६ जेठ ।
रुपन्देही जिल्लाका व्यवसायी पर्यटन प्रवर्द्धन गर्न पाल्पा जिल्लाको ढोलिमारा होम स्टे जल्पामा पुगेका छन् ।मदिरा व्यवसायी सङ्घ भैरहवा रुपन्देहीको आयोजनामा जेठ २३(२४ गतेसम्म अध्ययन अवलोकन भ्रमणमा मदिरा व्यवसायी सङ्घ भैरहवाले ढोलीमाराको अवलोकन भ्रमण गरेको हो । भ्रमण टोली ढोलीमारा सामुदायिक होमस्टेमा बास बसेको मदिरा व्यवसायी सङ्घ भैरहवाका अध्यक्ष बाबुराम पाण्डेयले बताए। ‘सङ्घले व्यवसायीको हकहितसँगै सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै आएको छ । वार्षिक कार्य योजना अन्तर्गत आन्तरिक पर्यटन प्रवर्द्धनका लागि प्रत्येक वर्ष अध्ययन अवलोकन भ्रमण गर्दै आएका छौँ, ’पाण्डेयले भन्नुभयो । दुई दिने भ्रमणका क्रममा यस पटक मदिरा व्यवसायी सङ्घ भैरहवाको टोली ढोलीमारा पुगेको उनले बताए
मदिरा व्यवसायी सङ्घ भैरहवाका पदाधिकारी, सदस्य, सल्लाहकार लगायत गरी ३६ जनाको टोली ढोलीमारा पुगेको कार्यक्रम संयोजक तथा सङ्घका सचिवालय सदस्य प्रकाश पाण्डेले बताउनुभयो ।गत वर्ष सङ्घको टोली अध्ययन अवलोकन भ्रमणका लागि प्युठानको स्वर्गद्वारी र रोल्पा पुगेको महासचिव यादव पोख्रेलले जानकारी दिनुभयो ।आगन्तुक पाहुनाहरूलाई स्वागत गर्ने ढोलीमाराका स्थानीयले बाजागाजासहित गरेको सत्कारलाई भुल्न नसकिने सङ्घका कोषाध्यक्ष सुन्दर भण्डारीले बताउनुभयो । मदिरा व्यवसायी सङ्घ भैरहवाले ढोलीमारामा छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत गरेको हो ।
छलफलमा सहभागी व्यवसायीहरूले अध्ययन अवलोकन भ्रमणलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । कार्यक्रममा सङ्घका अध्यक्ष बाबुराम पाण्डेयले २०७७ सालमा स्थापना भएको मदिरा व्यवसायी सङ्घ भैरहवाले विभिन्न कार्यक्रम गर्दै आएको बताए। उहाँले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले अध्ययन अवलोकन भ्रमण गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।
लुम्बिनी प्रेस क्लबका सचिव शशि पन्थीले मदिरा व्यवसायी सङ्घ भैरहवाले राम्रो काम गर्दै आएको बताए । यति ब्रुअरीका बजार प्रबन्धक प्रितम गिरीले मदिरा व्यवसायी सङ्घ भैरहवासँग सहकार्य गर्दै जाने बताए ।
मदिरा व्यवसायी सङ्घ पाल्पाका अध्यक्ष लक्ष्मण रेग्मीले भ्रमणका लागि पाल्पाको रमणीय स्थल ढोलीमारालाई रोजेको भन्दै मदिरा व्यवसायी सङ्घ भैरहवाप्रति आभार व्यक्त गरे । मदिरा व्यवसायी सङ्घ भैरहवाका सल्लाहकार तथा सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले पहिलो पटक आफूहरू ढोलीमारा पुगेको बताए ।
सङ्घका वरिष्ठ सल्लाहकार तथा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका कोषाध्यक्ष खिम बहादुर खत्रीले भ्रमण खुसी साटासाट गर्ने र नयाँ कुरा सिक्ने अवसर पनि भएको बताए । मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गिरीराज पौडेलले मदिरा व्यवसायी सङ्घ भैरहवा सशक्त रूपमा अगाडि बढेको बताए ।
मदिरा व्यवसायी सङ्घ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले सङ्घले राहत वितरण, अध्ययन अवलोकन भ्रमण लगायत विभिन्न सामाजिक कार्य गर्दै आएको बताए। सङ्घका अध्यक्ष बाबुराम पाण्डेयको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डेको स्वागत, संस्थापक एवं निवर्तमान अध्यक्ष केशवराज ज्ञवालीको धन्यवाद ज्ञापन तथा महासचिव यादव पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।