Butwal Today

नेप्से २३ अंकले उकालो, कारोबार रकम भने घट्यो

२६ जेष्ठ २०८२, सोमबार
अ+
अ-

२६ जेठ, काठमाडौं — लगातार चार दिनसम्म गिरावट आएको सेयर बजार सोमबार उकालो लागेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २३.१९ अंकले बढ्दै २६५३ बिन्दुमा पुगेको छ। बजार खुल्दादेखि बन्द हुने समयसम्म सेयर कारोबार हरियो सूचकमा रह्यो।

यद्यपि सूचकले सुधार देखाए पनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भए पनि सोमबार त्यो घटेर ८ अर्ब ६८ करोडमा झरेको छ। बजारमा १९१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ५६ कम्पनीको मूल्य घटेको छ। एउटा कम्पनीको मूल्य स्थिर रह्यो।

यस दिन पनि लगानीकर्ताको आकर्षण हाइड्रोपावर क्षेत्रमा देखियो। अघिल्लो दिन १.२२ प्रतिशतले उकालो लागेको यो क्षेत्र सोमबार २.३५ प्रतिशतले थप उक्लियो। अन्य समूहमा सबैभन्दा धेरै २.६३ प्रतिशतको वृद्धि देखिएको छ। बैंकिङ, विकास बैंक, फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा समूह पनि सकारात्मक देखिए। तर व्यापार, जीवन बीमा र होटल तथा पर्यटन समूह भने घटे।

चारवटा जलविद्युत् कम्पनी — मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर र विन्ध्यबासिनी हाइड्रोपावर — को सेयर मूल्य १० प्रतिशतले बढ्यो। शीर्ष १० बढी मूल्यवृद्धि भएका कम्पनीमध्ये ८ वटा हाइड्रोपावर कम्पनी छन्। तीमध्ये बुटवल पावरको मूल्य ९.८३ प्रतिशतले, मायाखोला हाइड्रोपावरको ९.७४ प्रतिशतले, रावा इनर्जीको ९.१८ प्रतिशतले र घलेम्दी हाइड्रोको ९.०१ प्रतिशतले बढेको छ।

यस दिन भूगोल इनर्जीको मूल्य ७.४७ प्रतिशतले घटेको छ भने मिथिला लघुवित्त र सप्तकोशी विकास बैंकको मूल्य क्रमशः ५.२३ र ५.११ प्रतिशतले घटेको छ।

सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, युनिभर्सल पावर, बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र सीईडीबी होल्डिङ्स रहेका छन्। बजार सुधारसँगै हाइड्रोपावर क्षेत्रमा देखिएको उत्साहले आगामी दिनमा लगानीकर्ताको मनोवृत्तिमा थप सकारात्मक संकेत दिन सक्ने अनुमान गरिएको छ।