© २०२३
सल्यान, २६ जेठ ।
डढेलोको उच्च जोखिममा पर्ने सल्यानमा वन व्यवस्थापनको अभियान थालनी भएको छ । सल्लाका घना वनले ढाकिएको भूभागले डढेलोको जोखिम बढाउँदै लगेको र आर्थिक आम्दानीको स्रोत पनि कमजोर हुँदै गएकाले अब सामुदायिक स्तरमै सल्लाको वनलाई प्रतिस्थापन गर्दै सालको वन विस्तार गर्ने अभियान सुरु भएको हो । जिल्ला स्थित कुमाख गाउँपालिका वडा नम्बर, ५ बाल्लेको जामिरे खोला सामुदायिक वन उपभोक्ता समूहले सल्लाको सट्टा सालको रुख रोप्ने काम अभियानकै रूपमा अघि बढाएको छ । समूहका अध्यक्ष राजेन्द्र शाहका अनुसार सल्लाको वनले अन्य बिरुवा हुर्कन नदिने, पानीका मुहान संरक्षणमा पनि सहयोग नपु¥याउने भएकाले सल्ला हटाउने कार्य सुरु गरिएको हो । हरेक वर्ष डढेलोको जोखिम बढ्दै जाँदा वन उजाड हुँदै गएकोले सल्लाको वन क्रमिक रूपमा हटाउँदै सालको रुख लगाउने काम सुरु गरिएको उनको भनाइ छ ।
आर्थिक वर्ष २०६९/७० मा सुरु गरिएको यो अभियान अन्तर्गत वन समूहको २८.७ हेक्टर क्षेत्रफलमा फैलिएको वनमध्ये करिब ५ हेक्टरमा नमुना प्लट तयार पारिएको छ । यस क्षेत्रभित्र वर्षमा दुई पटक गोडमेल, वनमारो नियन्त्रण, कुकाठ हटाउने, अग्निरेखा निर्माण लगायतका कार्य नियमित रूपमा हुँदै आएका छन् । साथै चरिचरण नियन्त्रण, पात सङ्कलनको व्यवस्थापन र रिचार्ज पोखरी निर्माण जस्ता उपायहरू अपनाउँदै वन समूहले वनको माटो संरक्षण, जैविक उत्पादन र वन्यजन्तु संरक्षणको प्रयास गरिरहेको छ ।
अध्यक्ष शाहका अनुसार अब वनलाई अनुसन्धानमैत्री बनाउन सबै रुखमा नामसहितको ‘ट्याग’ जडान गर्ने योजना छ । यसले अनुसन्धान गर्न चाहने विद्यार्थी, विज्ञ र संस्थाहरूलाई सहज पहुँच मिलाउने उनको अपेक्षा छ । कुमाख गाउँपालिकाको वन, वातावरण तथा जलवायु शाखा प्रमुख जीवन शर्माले सामुदायिक वनहरूले उत्कृष्ट कार्य गरिरहेको उल्लेख गर्दै ती अभ्यासहरू व्यवस्थित रूपमा दस्तावेजीकरण हुन नसकेकोले ओझेलमा परेको बताए । अब पालिकाले ती अभ्यासहरूलाई सूचीबद्ध गर्दै उदाहरणीय वनहरूलाई आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने नीति लिने उनको भनाइ छ ।
जामिरे खोला सामुदायिक वनले वि.सं. २०६८ मा जिल्लाको दोस्रो र २०७० मा पहिलो उत्कृष्ट सामुदायिक वनको रूपमा सम्मान पाइसकेको छ । सफल नेतृत्व, स्थानीय समुदायको श्रमदान र पालिकाको सहकार्यले यो वनले पारदर्शी, दिगो र अनुसन्धानमैत्री सामुदायिक वन व्यवस्थापनको नयाँ उदाहरण प्रस्तुत गरेको छ । यी अभ्यासहरू अन्य सामुदायिक वनहरूका लागि पनि अनुसरणीय बन्न सक्नेछन् ।