Butwal Today

नेपाल संस्कृत विश्वविद्यालयको ताला पाँच महिना पछि खुल्यो

२४ जेष्ठ २०८२, शनिबार
अ+
अ-
दाङ,२४ जेठ ।
दाङको बेलझुण्डीमा रहेको नेपाल  संस्कृत विश्वविद्यालयमा लागेको ताला पाँच महिनापछि खुलेको छ । नेपाल संस्कृत विश्वविद्याल र अखिल क्रान्तिकारीबिच पाँचबुँदे सहमति भएपछि २०८१ पुस १२ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालय, अनुसन्धान केन्द्र, बाल्मीकी विद्यापिठ लगायतका ठाउँमा लागेको ताला खुलेको हो ।
सहमति अनुसार नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा अध्ययनरत छात्रछात्राको पठनपाठनलाई सहज बनाउन आवश्यक पर्ने प्रयोगात्मक सामग्री असार मसान्तभित्र विनियोजन गरिएको बजेटबाट खरिद गरिसक्ने । ओपिडी सञ्चालन गर्नका लागि आवश्यक पर्ने हस्पिटल जनशक्ति तथा सामग्रीको आवश्यक प्रक्रिया मिलाउन आगामी विश्वविद्यालय सभामा प्रस्ताव लैजाने सहमति भएको छ ।
यसैगरी नेपाल संस्कृत विश्वविद्यालयको सम्बन्धन प्राप्त मिथिला आयुर्वेद कलेजको सम्बन्धन खारेजपश्चात् केन्द्रीय आयुर्वेद विद्यापीठ दाङमा नर्वाै व्याचमा नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गर्न आएका छात्रछात्रालाई मात्र इन्टर्नसिप भत्ता दिने सवालमा शिक्षा मन्त्रालय र आयुर्वेद चिकित्सा परिषद्मा पत्राचार गरी त्यहाँबाट प्राप्त निर्देशन अनुसार विद्यापीठमा अध्ययनरत नवौँ व्याचका विद्यार्थीमा एकरूपता कायम गर्ने सहमति भएको अखिल क्रान्तिकारी दाङका अध्यक्ष गोविन्द मल्लले जानकारी दिएका छन् ।
यसैगरी नेपाल संस्कृत विश्वविद्यालयको परीक्षा प्रणालीलाई निष्पक्ष र भयरहित बनाइने, संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद अध्ययन संस्थानका पदाधिकारी (डिन, सहायक डिन, प्राचार्य) अनुगमन तथा निरीक्षण गर्ने निकाय भएको हुँदा प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण जस्ता कार्यहरू नगरी आगामी दिनमा पदाधिकारीका विषयमा प्राप्त उजुरीका आधारमा नेसंवि कार्यकारी परिषद्ले एक महिनाभित्र छानबिन गरी दोषी पाइएमा पुनर्गठन गर्ने, नेसंविको आर्थिक चलखेलसम्बन्धी आरोप पुष्टि हुन सकेमा सम्बन्धित पक्षलाई कारबाहीका लागि विश्वविद्यालयले माथिल्लो निकायमा सिफारिस गर्ने, यस वार्ता समितिभन्दा पहिले र तत्कालीन निमित्त उपकुलपति प्राडा भीमप्रसाद खतिवडाद्वारा गठित वार्ता समितिका संयोजक सहप्राध्यापक योगराज शर्मा संयोजकत्वमा गठित वार्ता समितिसँग अखिल क्रान्तिकारीले गरेका सहमति शीघ्र कार्यान्वयनमा लैजाने सहमति भएको छ ।
जेठ १९ गते वार्ता टोलीबिच भएको सहमति अनुसार जेठ २० गतेदेखि ताला खोल्ने भए पनि खुल्न सकेको थिएन । वार्ता टोलीबिच १९ गते भएकै सहमतिका आधारमा शुक्रवारदेखि ताला खोलिएको अध्यक्ष मल्लले जानकारी दिए । सहमतिपत्रमा नेपाल संस्कृत विश्वविद्यालय वार्ता समितिका तर्फबाट संयोजक प्राडा अर्जुनप्रसाद भट्टराई, वार्ता समितिका सदस्य उपप्राध्यापक डा विनोदकुमार आचार्य, उपप्रशासक अनिल पोख्रेल, अखिल क्रान्तिकारीकातर्फ लुम्बिनी प्रदेशका उपाध्यक्ष गिरबहादुर महरा, अखिल क्रान्तिकारीका केन्द्रीय लेखा आयोगका सचिव गणेश पौडेल, अखिल क्रान्तिकारी दाङका अध्यक्ष गोविन्द मल्ल, अखिल क्रान्तिकारी आन्दोलन समितिका संयोजक विष्णु चौधरी, अखिल क्रान्तिरी केन्द्रीय आयुर्वेद विद्यापीठका उपाध्यक्ष प्रकाश गुप्ताले हस्ताक्षर गरेका छन् ।