© २०२३
पृष्ठभूमि
ग्रिक रोमन सभ्यता हुँदै ईसाको १४औं शताब्दीबाट सुरु भएको पुनर्जागरण कालपछि हाम्रो समाज मानव केन्द्रित हुँदै आएको छ । मानिसलाई संसारको सर्वश्रेष्ठ प्राणी मान्ने हाम्रो सभ्यताले प्रकृतिका जनावर, पंक्षी, माछा, वनस्पतिलाई मानवका आवश्यकता, रुचि, चाहना, लोभ परिपूर्ति गर्ने साधनको रूपमामात्र लिन थालियो । मानव सभ्यतासँगै विकसित विज्ञान र प्रविधिले मानवको तथाकथित उन्नति, प्रगति र विकासका नाममा तीव्र गतिमा प्रकृतिमाथि निर्मम दोहन सुरु भयो । अन्धाधुन्ध भएको औद्योगिकीकरण र शहरीकरणले पुँजीवादी उपभोक्तावादी समाजको विकास भयो । मानवले आफूलाई मालिक र प्रकृतिलाई दासको रूपमा उपभोग गर्ने चलन बढ्यो । प्रकृतिलाई दोहन गरी अथाह सम्पत्ति जम्मा गर्ने होडबाजीले हरियाली जङ्गलको विनास भयो । जंगलको विनाससँगै हजारौं प्रजातिका जीवजन्तु एवं वनस्पति अस्तित्वबाट लोप भए । प्राकृतिक प्रकोपहरू बाढी, पहिरो, भूक्षय, सुक्खा बाढी आदिले सम्पूर्ण जीव जगतकै अस्तित्वमा प्रश्नचिन्ह खडा भयो । जल प्रदूषण, वायु प्रदूषण, जमिन प्रदूषण, ध्वनि प्रदूषणका कारण सिर्जित विभिन्न खतरनाक महामारीले धेरै धनजनको क्षतिभइरहेको छ । मौखिक रूपमा वातावरणीय संकट पैदा भयो । यस्तो विषय परिस्थितिलाई सम्बोधन गर्न संयुक्त राष्ट्र संघले वार्षिक रूपमा वातावरणीय सचेतना जगाउने उद्देश्य सहित जुन ५ लाई विश्व वातावरण दिवस मनाउने निर्णय गर्यो । सन् १९७३ को जुन ५ देखि हरेक वर्ष जुन ५ लाई विश्ववातावरण दिवसका रूपमा विश्वभरि मनाइन्छ ।
विश्व वातावरण दिवस
संयुक्त राष्ट्रसंघले प्रथमपटक अन्तर्राष्ट्रिय वातावरणका सवालहरूका बारेमा छलफल गर्न स्विडेनको स्टकहोममा १९७२ जुन ५ देखि १६ सम्म एउटा सम्मेलन आयोजना गर्यो । यो सम्मेलन विश्व वातावरणको अवस्थाबारे शैक्षिक स्तरमा राजनीतिकर सामाजिक जागृत ल्याउने कोशीढुङ्गा साबित भएको छ । यो सम्मेलनमा उपस्थित सहभागीहरूले विश्व वातावरणलाई सुव्यवस्थापनका लागि २६ वटा सिद्धान्त र मानव वातावरणका लागि स्टकहोम घोषणा तथा कार्ययोजना सर्वसम्मतिले पास गरे । संयुक्त राष्ट्र संघ अन्तर्गत वैश्विक वातावरणीय सवालहरू सम्बोधन गर्न संयुक्तराष्ट्र संघ वातावरण कार्यक्रम स्थापना गर्ने समेत निर्णय भयो । सन् १९७३ देखि हरेक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउने समेत घोषणा भयो । प्रत्येक वर्ष विशेष विषयवस्तुलाई सम्बोधन गर्नेगरी एउटा देशलाई विश्व वातावरण दिवस कार्यक्रम आयोजना गर्ने जिम्मेवारी दिई विश्व वातावरण दिवस मनाइन्छ । प्रथम विश्व वातावरण दिवस स्विट्जरल्यान्डको जेनेभामा “केवल एक पृथ्वी” विषयवस्तुमा मनाइयो । सन् २०२५ को विश्व वातावरण दिवस दक्षिण कोरियाको सियोलमा “प्लास्टिक प्रयोग अन्त गरौँ” भन्ने विषयवस्तुमा केन्द्रित रही भव्य रूपमा मनाइएको छ । एवं प्रकारले २००६ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभाले २०१० देखि २०२० को दशकलाई “मरुभूमि र मरुभूमिकरणको विरुद्ध संघर्ष” गर्ने दशकका रूपमा विश्वव्यापी रूपमा मनाउने निर्णय गरेको थियो । यसै प्रकारले संयुक्त राष्ट्रसङ्घले जलवायु परिवर्तन र स्वस्थ जैविक विविधताका कारण उत्पन्न हुनसक्ने प्राकृतिक प्रकोपबाट जोगिन, जनमानसमा वैश्विक पर्यावरणको जानकारी दिन र वातावरण संरक्षणको महत्वबारे थप जनचेतना जगाउन सन् २०२१ देखि २०३० को दशकलाई “पर्याप्रणाली पुनस्र्थापना दशक” का रूपमा मनाउने घोषणा भएको छ ।
वातावरण र मानव समाज
रेनेडेकार्टेले मानिसमा सोच्न सक्ने क्षमता हुने हुँदा, जगतमा भएका जीवजन्तुमा मानिस सर्वश्रेष्ठ प्राणी हो भन्ने अवधारणा स्थापित गराए । संसारका सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक, राजनैतिक, वैज्ञानिक, प्राविधिक खोज, आविष्कार, ज्ञान निर्माणका सबै गतिविधिहरू मानव केन्द्रित भए । मानवले प्रकृतिका हरेक जीवजन्तु आफ्नो उपभोगका लागि सिर्जित भएका हुन भन्ने मान्यता राखे । मानवको शक्ति र सम्पत्ति थुपार्ने लालसाले वैश्विकपर्या प्रणाली ध्वस्त हुन थाल्यो । जैविक र अजैनिक बीचको अन्तर्निर्भरता र अन्तरसम्बन्ध खलबलिन पुग्यो । मानव समाजमा यान्त्रिकता र कृत्रिमताले शासन गर्न थाल्यो । अल्डो लियोपोल्डको पृथ्वी एउटा जैविक सामुदायिक परिवार हो र यहाँ रहेका जमिन, वायु, पानी, वनस्पति, पंक्षी, माछा, जनावर, मान्छे यो जैविक सामुदायिक परिवारका समान अधिकार भएका सदस्य हुन् र यी सबै सदस्यको सह–अस्तित्वमा मात्र यो पृथ्वी स्वस्थ रहन्छ भन्ने मान्यतालाई बेवास्ता गरियो । यस किसिमको अविवेकी मान्यतालाई व्यवहारमा उतार्दा जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास, प्रदूषण, मरुभूमिकरण, ओजोन तह पातलिनु, समुन्द्री अम्लीयकरण, भूक्षय, प्लास्टिक प्रदूषण, समुद्रीतह वृद्धि, डढेलो, पानीको मुहान सुक्ने, समुद्री प्रदूषण जस्ता मानवसिर्जित समस्याहरूले मानवमात्रनभएर सकलजीवजन्तुको अस्तित्व नै प्रलय हुने खतराले हामीलाई लल्कारी रहेको छ ।
प्रकृतिकास्व–नियमन प्रणाली र स्व–नवीकरणीय ऊर्जा मानवीय हस्तक्षेपले गर्दा कमजोर भईरहेका छन् । बढी उत्पादन गरी नाफा कमाउने लोभले रासायनिक मल, किटनाशक औषधि, सूक्ष्म जीवनाशक औषधिको प्रयोग प्रचुर मात्रामा बढेको छ । यस्ता अजैविक वस्तुको प्रयोगले माटोको प्राकृतिक उर्वर शक्ति ह्रास भएको छ । यस्ता अजैविक, हानिकारक, विषालु पदार्थको प्रयोगले उत्पादन हुने अन्न, तरकारी, फलफुलले मानव तथा जीवजन्तुको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेका छन् । आजभोलि हामी बस्ने घर, समाज, हामीले लिने हावा, पिउने पानी, हामीले खाने खानेकुरा सबै अस्वस्थ भएका छन् । अस्वस्थ वातावरण, अस्वस्थ बस्ती, अस्वस्थ हावापानी, अस्वस्थ खानापिना, अस्वस्थ तथाकथित आधुनिक सभ्य मानव समाज । अष्ट्रेलियन दार्शनिक एवं नारीवादी वातावरणविद भालप्लमवुड भन्छिन् कि मानव समाजले प्रकृतिलाई आफ्ना लालसा पूरा गर्ने साधनको रूपमा प्रयोग गर्दछ । आफूलाई केन्द्रमा र अन्य जीवजगतलाई सीमान्तकृत गर्दछ । प्रकृतिलाई भय, त्रास, असभ्यताको प्रतीक ठान्दछ । वैश्विक पर्या प्रणाली सञ्चालनमा प्रकृतिको भूमिकालाई नजरअन्दाज गर्दछ । मानव समाजका यस्तै स्वार्थी, चतुरे चालले आज वातावरणीय प्रलयको त्रास हामी माथि मडारीरहेको छ । प्राकृतिक स्रोतहरू र पर्या प्रणालीलाई अर्थोपार्जन र नाफा कमाउने दृष्टिकोणले प्रयोग गरिएको छ । प्रकृतिमा अन्तरनिहित स्रोतहरू जस्तै वन, जङ्गल, पानी, पेट्रोलियम पदार्थ, कोइला, खनिज पदार्थ, मूल्यवान धातुहरू केही सीमित व्यक्ति र समुदायले आफ्नो व्यक्तिगत र संस्थागत उन्नतिका लागि प्रयोग गर्दछन् । प्राकृतिक स्रोत साधनमाथि आफ्नो हैकम जमाउन, मानव समाजबीच आपसीद्वन्द जन्माउने, झैँ झगडा लडाईँ र युद्धसमेत भइरहेका छन् । यसको ज्वलन्त उदाहरण विगत २–३ वर्षदेखि चलिरहेको रूस–युक्रेन युद्ध । अफ्रिकन र एसियाली मुलुकहरूका प्राकृतिक स्रोतहरूमाथि राज गर्न प्रथम विश्वयुद्ध भएको थियो । पेट्रोलियम पदार्थ र उर्वर जमिनको कारण बोलिभिया र पाराग्वेबीच सन् १९३२ देखि १९३५ सम्मचाको युद्ध भएको थियो । अफ्रिकाका गृहयुद्धहरू, मध्यपूर्वका द्वन्दहरू, सन् १९८० देखि १९८८ सम्मको इराक–इरान युद्ध । यी सबै प्राकृतिक स्रोत साधन दोहन गर्ने उद्देश्यबाट उत्प्रेरित युद्धहरू हुन् ।
वातावरण मैत्रीमानव समाज
वातावरणीय संकटको वर्तमान परिपे्रक्ष्यमा हामी सामु दुईवटा विकल्प छन् ः प्रकृतिलाई जथाभावी दोहन गर्न छोडी वातावरणमैत्री मानव समाज निर्माणमा जाग्नु, उठ्नु र काम गर्नु या प्रकृतिलाई अन्धाधुन्ध दोहन गर्दै निकट भविष्यमा अरू जीवजन्तुसँग आफ्नो अस्तित्वको प्रलयलाई आत्मसात गर्नु । यस संकटकालीन अवस्थामा अब वातावरण मैत्री मानव समाज निर्माणमा क्रियाशील हुनु बाहेक अर्को विकल्प हामी सामु छैन ।
वातावरणमैत्री मानव समाज निर्माण गर्दा महात्मा गान्धीको भनाई “प्रकृतिले हामी सबैका आधारभूत आवश्यकता पूर्ति गर्छ तर हाम्रो लोभलालसा पूरा गर्दैन” भने जस्तै हामीले शक्ति र सम्पत्ति थुपार्ने लोभ त्याग्नु पर्दछ । हाम्रो विलासी उपभोक्तावादी जीवनशैली त्यागी प्रकृतिप्रेमी सरल जीवनशैली अपनाउनु पर्दछ । महान वैज्ञानिक अल्बर्ट आइन्टाइन भन्छन् “वातावरण भनेको म मात्र होइन पृथ्वीमा भएका सबै जीवजन्तु वस्तु हुन्” । यी सबै जीवजन्तु, वस्तु जस्तै म पनि एउटा सदस्यमात्र हुँ । अरूको अस्तित्वको सम्मान पनि मेरो सम्मान हो । यो पर्याप्रणालीमा भएकामध्ये एउटा सदस्यको अस्तित्व खतरामा पर्छ भने सकल पर्याप्रणालीको अस्तित्वपनि खतरामा पर्छ भन्ने सोच्नुपर्दछ ।
चवालीसौं अमेरिकी राष्ट्रपति बाराक ओबामाको विचारमा जलवायु परिवर्तनको असर अनुभूत गर्ने हामी पहिलो पुस्ता हौँ । र, जलवायु परिवर्तनलाई निराकरण गर्न प्रयास गर्ने हामी अन्तिम पुस्ता हौ । यसको तात्पर्य यदि हामीले जलवायु परिवर्तनले सिर्जित वातावरणीय संकट समयमै नियन्त्रण गरेनौ भने हामी यो पृथ्वीमा रहने मानवको अन्तिम पुस्ताहुनेछौ । अन्य जीवजन्तुसँगै हामीपनि वातावरणीय प्रलयको सिकार हुनेछौं । विश्वविख्यात वातावरण अभियन्ता, महिला पर्यावरणवादी बन्दना शिवाको विचारमा विश्वलाई काँधमा लिएर राख्ने हामी मानचित्र वली होइनौँ, हामीले सम्झिनुपर्छ कि हामीलाई पृथ्वीले धारण गरेकी छन् । सारा पृथ्वी हाम्रो लोभ, लालसा, आडम्बर परिपूर्ति गरिदिने अजैविक साधन होइनन् । संसारका अरबौँ जीवजन्तुलाई धारण गर्ने, पालन गर्ने, रक्षा गर्ने जननी हुन्, हाम्रीपृथ्वी । स्वस्थ पृथ्वी, स्वस्थ जीव जगत, स्वस्थ मानव समाज । अमेरिकी जीव वैज्ञानिक ब्यारी कमनर भन्छन्– संसारमा हरेकचिज अर्कोचिजसँग जोडिएको हुन्छ । कुनैपनि जीवजन्तु, पदार्थको एक्लै अस्तित्व सम्भव छैन । “माटोका भर ढुङ्गा; ढुङ्गाको भर माटो” भने जस्तै संसारका सबै जीवजन्तु एकआपसमा अन्तरनिर्भर र अन्तर सम्बन्धित छन् । महिला–पुरुष, रात–दिन जस्तै प्रकृतिर संस्कृति एक अर्कामा अन्तरनिर्भर छन् । कुनै एकको अनुपस्थितिमा अर्कोको अर्थपूर्ण अस्तित्व सम्भव छैन ।
निष्कर्षः विश्व वातावरण दिवसले संसारका अरबौं व्यक्तिहरूलाई हामी सबैलाई धारण गर्ने, पालन गर्ने, रक्षा गर्ने पृथ्वी वा प्रकृतिलाई बचाउन र पूर्ववत जस्तै पुनस्र्थापना गर्न जागृति गराउँदछ । हाम्रो दैनिकी, हाम्रा व्यवसाय, हाम्रा समुदाय वातावरणमैत्री बनाउन भकभकाउँछ । प्रकृतिको प्राकृतिक स्वरूप, प्रत्येक जीवजन्तुका अनुपम अद्वितीय अन्तर्निहित गुणहरूलाई संरक्षण गर्दै जैविक विविधता जोगाउन कर्मशील बनाउँछ । पृथ्वीमा रहेका सबै जीवजन्तुलाई जात, लिङ्ग, वर्ण, वर्ग, धर्म सम्प्रदाय आदिका नाममा कुनै भेदभाव नगरी सबैलाई प्रकृतिमा बाँच्न, पुष्पित र पल्लवित हुने अधिकार छ । एक कोषीय जीव अमिवादेखि विशाल ह्वेल माछाको यो पृथ्वीमा बाँच्ने र रमाउने समान अधिकार छ । पर्याप्रणालीलाई जीवन्त राख्न सबैको उपस्थिति अनिवार्य छ । हाम्रा चाडपर्व, मेला, उत्सव बसोबास, रहनसहन, रीतिरिवाज वातावरणमैत्री हुनुपर्दछ । ब्रह्माण्डको सर्वश्रेष्ठ प्राणी मानव हो भन्ने अहंकारी चेतना त्यागी ब्रह्माण्डमा रहेका सबै जीवजन्तु वनस्पतिको अस्तित्वको समान महत्व छ भन्ने पर्यावरणमैत्री चेतना हुनुपर्दछ । प्लास्टिकको अत्याधिक प्रयोगले जमिन, जल, वायु प्रदूषित भएको तथ्यलाई आत्मसात गर्दै आफ्नो घर, परिवार, समाज, कार्यस्थलमा प्लास्टिकको प्रयोगलाई आजैबाट अन्त गरौँ । यस आह्वानलाई अभियानका रूपमा लिई प्लास्टिक रहित समाजको निर्माणमा तन, मन, वचन र व्यवहारले प्रतिबद्ध बनौँ ।