© २०२३
अहिले बजारमा अत्यधिक काबाईड प्रयोग गरिएको पाकेको आँप खुल्लमखुल्ला बिक्री भइरहेको छ । यसले मानव स्वास्थ्यमा ठुलो असर पुग्ने चिकित्सकहरूले बताएका छन् । नेपाली आँप असार लागेपछि मात्र तयार हुने भए पनि केमिकल (कार्बाइड) प्रयोग गरी पकाइएको आँप अहिले नेपालीको घरघरमा पुगेको छ । कार्बाइडले आँपलाई स्वास्थ्यका लागि हानिकारक बनाइदिन्छ । त्यसैले बजारबाट आँप किन्दा सावधानी अपनाउन विज्ञहरूको सुझाव छ । सिजनमा प्राकृतिक रूपमा पाकेको फलफूल मात्र खान स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन् । तर, मानव स्वास्थ्यलाई हानी पुग्ने आँप बजारमा विक्रीका लागि राखिँदा पनि यस्तो आँप तथा फलफूलमाथि रोक लगाउने निकाय मौन छ । कार्बाइडले पकाएको फलफूल खाँदा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता सामान्य समस्यादेखि फोक्सो, मुटु, मिर्गौलाको स्वास्थ्यमा समेत घातक असर पर्छ । यही साता धनगढी उपमहानगरले विषादी प्रयोग गरिएको दुई हजार किलो आँप नष्ट गरेको थियो । अरू जिल्ला र ठुला सहरमा भने यसको प्रभावकारी अनुगमन भएको छैन ।
त्यसो त अहिले आएको पाकेको आँपमा मात्रै होइन, केरा, भिण्डी, घिरौला, हरियो धनियाँ, सिमी, लौका, काँक्रा लगायतका तरकारी तथा फलफूलमा अत्यधिक विषादीको प्रयोग भएको पाइएको छ । फलफूलमा अधिक मात्रामा काबाईडको प्रयोग हुँदा तरकारीमा भिटामिन र किटनाषक विषादीको प्रयोग भइरहेको छ । यसले मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने कुरा निश्चित छ । केही दिन अघि गरिएको परीक्षणमा नेपाली भान्सामा दैनिक उपभोग गर्ने तरकारीमा अत्यधिक मात्रामा विषादीको प्रयोग हुने गरेको भेटिएको थियो ।
यसका कारण उपभोक्ताले विभिन्न किसिमका प्राणघातक रोगको सिकार बन्नुपरेको छ । यसले मानिसलाई बिस्तारै रोगी बनाउँदै हृदयाघातको सम्भावना बढाउँछ । साथै क्यान्सरजस्तो प्राणघातक रोग लागी ज्यान नै जान सक्छ । तरकारीमा अत्यधिक विषादीको प्रयोगले आर्थिक रूपमा मुलुकले समेत ठुलो भार व्यहोर्नु परेको छ । किसानले थोरै लगानीमा धेरै आम्दानी गर्ने नाममा तरकारीजन्य उत्पादनमा अत्यधिक मात्रामा रसायन र विषादी प्रयोग गर्ने गरेका कारण यसले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने गरेको तथ्य सार्वजनिक हुने गरे पनि अत्यधिक विषादीको प्रयोग रोक्ने पहल कहीँ–कतैबाट भएको देखिँदैन । अहिलेसम्म भएका प्रयास पनि देखावटीजस्तो मात्रै देखिन्छ । त्यसैले यो समस्या मुलुकका एउटा प्रमुख चुनौतीको रूपमा देखा परेको छ । नेपाली उत्पादन मात्र होइन, भारतबाट आयात हुने तरकारीमा समेत अत्यधिक विषादी प्रयोग हुने गरेको पाइन्छ । त्यसको रोकथाम र नियन्त्रणका लागि सरकारी तवरबाट जुन किसिमले प्रयास हुनुपर्ने हो, त्यो नभएको भन्दै उपभोक्तावादीहरूले चासो र चिन्ता व्यक्त गरेका छन् । यसरी चासो र चिन्ता व्यक्त गरेको लामो समय भए पनि त्यसको सम्बोधन हुन सकेको छैन ।
राजधानीलगायत देशका प्रमुख सहरमा विभिन्न क्षेत्रबाट आयात हुने तरकारीमा भएको विषादीको प्रयोगका बारेमा मापन गर्ने कर्मचारी र त्यसको अवस्थाका बारेमा जानकारी दिने निकाय नै मौन रहेको पाइन्छ । सरकारले विषादीसम्बन्धी ठोस कदम चाल्न नसक्दा भान्सामा हरेक छाक विष भित्रिने गरेको छ भने त्यही विष नेपालीहरूले खाने गरेको अवस्था छ । सरकारले विदेशबाट नेपाल आयात हुने रसायन तथा विषादीमा नै रोक लगाउनुपर्ने जरुरी छ । विषादी नेपाल भित्रिन दिने तर किसानलाई चाहिँ यसको प्रयोग नगर भन्ने सरकारी रवैया कति अव्यवहारिक छ ? यस किसिमको सरकारको निर्देशन मान्न जनता तयार देखिँदैनन् । विषादीको आयातमा रोक लगाएर हरेक नेपालीको भान्सामा भित्रिने विषलाई सदाका लागि अन्त्य गर्ने खालको कानुन बनाउनु र यसको कार्यान्वयन गर्नुको विकल्प पनि छैन । सरकार भनेको जस्तो गरिरहने र किसान सरकारको कुरा नसुनेजस्तो गरेर विषादीको प्रयोग गरी उत्पादन बढाइरहने हो भने नेपालीको स्वास्थ्य गम्भीर चुनौतीतर्फ जाने निश्चित छ ।